एसईईको नतिजा सार्वजनिक, कसरी थाहा पाउने ?

This News was posted on June 23, 18 2:10 pm

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार सार्वजनिक गरेको छ ।

कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा ग्रेडिङ प्रणालीअनुसार शनिबार साँझ सार्वजनिक गरेको हो । दिउँसो नै सार्वजनिक हुने भनिएको संवत् २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफल प्रकाशनमा प्राविधिक समस्याका कारण ढिलाइ भएको बताइएको छ ।

कार्यालयका अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६३ हजार ६ सय ८९ मध्ये नियमितमा ४लाख ५१ हजार ५ सय ३२ तर्फ ३.६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) १४ हजार २ सय ३४ जनाले प्राप्त गरेका छन्।यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थी ४६ हजार १ सय ३० जना छन्। २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ४९ हजार ३७ जना, २.४ देखि २.८ जीपीएसम्म ल्याउने विद्यार्थी ७० हजार ५ सय १२ जना, २ देखि २.४ जीपीएसम्म ल्याउने ६१ हजार ८ सय ७० र १.६ देखि २.०० जीपीएसम्म ल्याउने एक लाख १० हजार ४३ विद्यार्थी छन्। १.२५ देखि १.६० सम्म ल्याउने ३५ हजार ५ सय ८५ जना विद्यार्थी रहेका छन्। ०.८५ देखि १.२० ल्याउने ५८ हजार ६ सय ८८ रहेका छन्।

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले दिउँसो ४ बजे परीक्षाफल प्रकाशन गर्न पत्रकार सम्मेलन तय गरेपनि प्राविधिक काम पूरा गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक ढिला सकिएकोले ढिलाइ भएको उपनियन्त्रक गेहनाथ गौतमले जानकारी दिए । एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np र परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ। नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा पनि नतिजा हेर्न सकिन्छ।