किम -सी भेटघाट,सल्टेला त आणविक निशस्त्रीकरणको मुद्दा ?

This News was posted on March 31, 18 2:01 pm

उत्तर कोरियाली नेता किम ङ उन चिनियाँ नेता सी जिनपिङबीच यसै साता बेइजिंगमा भेटघाट भएको छ । सुरुसुरुमा गोप्य रूपमा राखिएको यो भेटघाटमा किमले परिस्थिति अनुकुल बने उत्तर कोरियाली प्रायद्वीपमा आणविक निशस्त्रीकरणका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार किमले ‘दक्षिण कोरिया र अमेरिकाले हाम्रो प्रयासको उत्तर हार्दिकताका साथ दिएर शान्ति र स्थायित्वको वातावरण तयार गरे कोरियाली प्रायद्वीपमा आणविक निशस्त्रीकरणको मुद्दा सल्टिने’ बताए। उता सीले भने चीन र उत्तर कोरियाबीचको ऐतिहासिक सम्बन्धको प्रशंसा गर्दै भविष्यमा प्योङयोङ भ्रमणको निमन्त्रणा समेत स्वीकार गरे।

कोरियाली प्रायद्वीपमा चकित बनाइदिने विकसित घटनाक्रमको पछिल्लो कडी हो किमको चीन भ्रमण। पहिले दक्षिण र उत्तर कोरियाबीच प्योङचाङ हिउँदे ओलम्पिकमा र त्यसपछि पनि अनेकौँ कूटनीतिक भेटघाट भए। यी भेटघाटहरुले मार्चको सुरुमा किम जोङ उन र दक्षिण कोरियाली अधिकारीहरुबीचको ऐतिहासिक भेट सम्भव गरायो। सो भेटमा दुवै पक्ष अन्तर–कोरिया शिखरवार्ता गर्न सहमत भए, जुन अप्रिल अन्त्यमा तय भएको छ।

दक्षिण कोरियाली दूतहरुको प्योङयोङ भ्रमणका क्रममा किमले बारम्बार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष भेट्ने इच्छा जाहेर गर्नुका साथै उत्तरको आणविक निशस्त्रीकरणलाई पनि स्वीकार गरे। गठबन्धन परिषद् र ह्वाइट हाउस सल्लाहकारहरुको चेतावनीयुक्त तरिकाका बावजूद यो प्रस्तावलाई ट्रम्पले तत्काल स्वीकार गरे। किम र ट्रम्पबीच मे महिनाको अन्त्यसम्ममा बैठक हुने योजना बनेको छ।