कृषिजन्य बस्तुको उचित मूल्य नपाएको भन्दै किसान आन्दोलित

This News was posted on July 25, 18 11:35 am

ललितपुर । ०७५ साउन ९ गते

रमेशप्रसाद तिमल्सिना

सरकारले कृषिजन्य बस्तुको उचित मूल्य प्रदान नगरेको भन्दै किसानहरु आन्दोलित भएका छन् । किसान चौतारी नेपालद्वारा साउन ९ गते कालीमाटी फलफुल तथा तरकारी बजार परिसरमै पुगेर किसानहरुले विरोध कार्यक्रम तथा नारा जुलुस निकालेका हुन् ।

स्थानीय स्तरमा खपत भएर बाँकी रहेका कृषि उत्पादनले मूल्य नपाएको र अन्य बस्तुजस्तै निर्यात गर्ने वातावरण सिर्जना नगरेकाले दबाबमूलक कार्यक्रमअन्तर्गत सडकमै आएर आन्दोलन गर्नुपरेको दबाब कार्यक्रममा सहभागि एक कृषकले बताए ।

किसानले आफै उत्पादन गर्ने र आफैं मूल्य तोक्न नपाउने अवस्था सिर्जना गरिँदा आफूहरु मारमा परेको कृषकहरुको भनाई छ । स्थानीयस्तरमा खपत भई बाँकी कृषि उपजले मूल्य तथा बजार नपाउँदा त्यसै सड्ने, खेर जाने भएकाले यसले किसानलाई उत्पादनमा निरुत्साहित बनाएको उनीहरुले बताए ।

हाल बन्दा, मूला र अदुवाबाहेकका अन्य कृषिजन्य अपजहरु भारत निर्यात गर्न सरकारले प्रोत्साहन गर्न नसकेको किसानहरुको गुनासो छ । उनीहरुले कृषिजन्य बस्तुको उचित मूल्य पाउनुपर्ने, भारत तथा अन्य देश निर्यात गर्न सहजीकरण गनुपर्ने, किसानलाई प्रोत्साहनमूलक कार्यक्रम ल्याउनुपर्ने, नेपाली तरकारी भारतले रोके नेपालले पनि भारतीय तरकारी रोक्नुपर्ने लगायतका माग राखेर प्ले कार्डसहीत किसानहरुले नाराबाजी गरेका थिए ।

आन्दोलनकै क्रममा दबाब समितिले कालिमाटी फलफूल तथा तरकारी विकास समितिलाई मागपत्र पेस गरेको थियो । आफ्ना मागविरुद्ध सरकार गम्भीर नभए अझ सशक्त आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने किसानहरुले बताए ।