कृषि उत्पादन बढाउनका लागि सूचनामैत्री मोबाइल एप्स प्रणाली

This News was posted on July 19, 18 11:40 am

ललितपुर । ०७५ साउन ३ गते

रमेशप्रसाद तिमल्सिना

सरकारले कृषि उत्पादकत्व बढाउन सूचनामैत्री प्रणालीमा लागु हुने भएको छ । कृषकहरुलाई कृषिसम्बन्धी जानकारी र पूर्वसूचना प्रणाली लागू गर्न कृषि मोबाइल एप्स प्रणाली सेवा विस्तारमा सरकार लागि परेको हो ।

कृषिसँग सम्बन्धित जलवायु प्रकोप, मौसम तथा प्रविधिहरुको जानकारी समयमै उपलब्ध गराउन यस वर्ष कृषि मोबाइल एप्समार्फत ५० हजार कृषकलाई एसएमएस सेवा पु¥याउने सरकारी लक्ष्य रहेको छ । जलवायु परिवर्तनले कृषिमा पार्ने क्षति तथा पूर्वजानकारी प्रणालीबाट हुने अनपेक्षित क्षतिलाई न्यूनीकरण गरी कृषि उत्पादकत्व बढाउन सूचनामैत्री एसएमएस सेवा विस्तार गर्न लागिएको कृषि मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले बताए ।

प्रवक्ता कार्कीले चालू आर्थिक वर्षमा झन्डै ५० हजारभन्दा बढी कृषकमा त्यस्तो सेवा विस्तार गर्ने लक्ष्य लिएको बताए । हालसम्म कृषिसम्बन्धी जानकारीसहितको एसएमएस सेवा ३५ हजारभन्दा बढी कृषकसम्म पु¥याएको मन्त्रालयले जनायो । त्यसमा पनि नेपाल टेलिकम र एनसेल सेवा लिने कृषकहरुलाई नियमित रुपमा एसएमएस पठाउने गरिएको छ ।

आर्थिक वर्ष ०६९ र ०७० देखि सुरु गरिएको यो सेवा विस्तारका लागि ६ मिलियन यूएस डलर लागत लाग्नेछ । जलवायु प्रकोप तथा समुत्थान निर्माण आयोजनाले नियमित रुपमा कृषिसम्बन्धी जानकारी, कृषि बजार सूचना, जलवायु परिवर्तन, प्रविधिहरुको प्रयोगलगायतका विषयमा निरन्तर एमएमएसबाहेक विभिन्न माध्यमबाट कृषकहरुलाई जानकारी गराउँदै आएको छ । आयोजना लागू भएका २५ जिल्लामा ‘कृषि मौसम सल्लाह सेवा बुलेटिन’ तयार भई वितरण गरिएको छ । आयोजनाको वेबसाइट ‘हाम्रो कृषि’ एप्समा सबै जानकारी समाविष्ट गरिएको अयोजना जनायो ।

राष्ट्रिय योजना आयोगको तथ्यांकअनुसार १९ जिल्लामा किसान कल सेन्टर स्थापना भइसकेको छ भने कृषि सूचना प्रणालीको सामग्री २५ जिल्लामा वितरण भइसकेको र यस वर्ष बाँकी जिल्लाहरुमा पनि पु¥याउने लक्ष्य लिइएको छ ।

अर्थमन्त्रालयले ल्याएको आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा पनि मोबाइल सेवामार्फत कृषकलाई कृषि उपजहरुको मूल्यलगायत बजार सूचना प्राप्त हुने प्रणालीको व्यवस्था गरेको छ । त्यसका लागि पनि कृषि क्षेत्रको लगानी जोखिम व्यवस्थापनका लागि बजेट छुट्याएको हो । यस्तै चालू आर्थिक वर्षमा सरकारले सबै स्थानीय तहमा कृषि र पशुपन्छीसम्बन्धी प्राविधिक ज्ञान र सीप प्रदान गर्न ‘कृषि ज्ञान केन्द्र’ समेत स्थापना गर्ने भएको छ ।