“केही छैन,सबै छ” – कथा

This News was posted on April 30, 18 6:05 am

रिता संजेल,ललितपुर 


करिब ७६ बर्ष पहिलेदेखि आज अहिलेसम्म धेरै अनुभव अनुभूति,भोगाइ र यादहरु मन मस्तिष्कभरी एकैपटक उथलपुथल हुनेगरी मडारिदै आउछन्, आँखाभरी नाच्न थाल्छ्न। धेरैले यस उमेरमा होस गुमाए भन्छ्न । स्याहारसुसार हेरविचार गर्ने हुन्छन्। तर मैले न होस गुमाउन सकें न होस गुमाउन पाएँ ।होस सम्हाल्न सक्ने भएदेखिका याद त राम्रै याद छ। त्यो बाहेकका आमा,बुबा,फुपु,मामा, हजुरबुबा,हजुरामा, आफन्त अनि छिमेकिले तँ सानोमा जिद्दी थिईस,भनेको केहि चाही मान्ने आज्ञाकारी पनि थिईस भन्दै गर्दा म त्यस्तो केहि थिइन सबै त्यो तपाईंहरूको सोचाइ र व्यबहार थ्यो भन्न मन लाग्छ अहिले सम्झदा। जे होस,म त्यति खराब पनि हैन अनि असल पनि हैन हुनै पर्ने गुणले सामान्य सजिएकी थिएँ।

आज उमेरले मलाई बुढी बनाएको छ।म सजिलै हिंड्न् डुल्न सक्दिन।मलाई खानमा पनि खासै रुची छैन तर पनि यो भैदिए, त्यो भैदिए भन्ने आश र रहर जाग्न छाडेको पनि छैन।उतिबेला आफ्नै बलबुता र पौरखमा त आफ्ना रहर पुरा गर्न सकिन ।आशाहरु कति सेलाए, फेरि नयाँ जन्मिए।पाएका प्राप्ति वास्तै गरिएन फेरि गुमेपछी जोगाउन जानिनछु भन्दै पश्चातापमा परियो।अनि फेरि त्यसै अलमलिएर पनि नबसी आजको यस बुढ्यौली अवस्थामा आइपुगें।तर पनि धेरै सिप र बुझाइ पाइयो ।रहर र इच्छा उस्तै छ्न। चउरमा केटाकेटी देख्दा त्यसरी नै कुद्न खेल्न झगडा गर्दै फकाउन मन लाग्छ।किशोर,वयस्क,युवा देखे त्यसरी नै रमाएर हिंड्न् बोल्न चल्न काम गर्न मन लाग्छ।टि.भि.हेर्दा, नाचगान कथाव्यथा सुन्दा देख्दा आफूलाई कहिले त्यही अवस्थामा पाउछु अनि कहिले गएर रमाउन ,सहयोग गर्न मन लाग्छ।

अब त त्यही मनकै कुनामा कुरा खेलाउदै आफैं सुन्ने आफैं सवाल जवाफ गर्ने त हो। जिन्दगीमा के मात्र गरिएन। पहिले माइतीघर हुँदा आमा, बुवा, दाइ,भाइ दिदीबहिनी,साथीभाइ भनियो। सानैमा बिहेको कुरै अनि भुमिका नै नबुझ्दै बिहे गर्दिए।त्यसपछी सासुससुरा, देवरजेठाजु, जेठानी नन्दआमाज्यु भनेर मान्दै र मनाउदैमा सकियो । आफ्नो भनेर दिएका ती पति त खै कता अनि को हुन, के हुन कहिले बुझिएन।सायद अवस्थाले बुझ्न सकिन,पाइन भन्नु पर्यो। देखाउदै मनाउदैमा मेरो उर्बरिलो उर्जाशिल उमेर सकियो। गुनासो पनि अहिले यो सडकको छेउमा बसेर गर्नु परेको छ। त्यो पनि आफूले आफैंसंग। ऊ बेला त जोड्न जोगाउन सबैलाई मान्न मनाउनमै व्यस्त भइयो।फुर्सदै भएन जीवन के हो अनि कसरी चल्नु चलाउनुपर्छ भनेर।

आज पनि दु:ख लागेको छैन।जे भए नि गर्व गर्नसक्छु आफैंसंग आज । चाहे अरुले आज मलाई यहाँ सड्कछेउ देखेर घृणा गरुन या दया । उमेर हुँदा सक्दा मैले धेरैलाई धेरै गरेको थिएँ ।त्यसको फल आज एक्लो हुनुपर्यो भन्छ्न,मलाई नजिक बाट चिन्ने र देख्नेहरु। तर म आज यहाँ यसरी रहँदा पनि आफूलाई भाग्यमानी सम्झन्छु। घर परिवार आफन्त समाज सबैको साथ पाएँ, बुझेँ, चिनेँ ।आज खुल्लाआकाशमुनि स्वतन्त्र भएर संसार नियाल्ने अहोभाग्य पनि पाएको छु।जो हर कोहीले चाहेर यस्तो जीवन जिउन पाउदैन।बाध्यता र विवशतामा रमाउन थालेपछि आझभोली यो आकाशमुनिको धर्तीमा अझै धेरै वर्ष संसार नियालेर बाँच्ने रहर बढ्दै छ।कतिन्जेल बाँच्छु थाहा छैन ,तर रहर झन झन जगिरहेछ।के छैन भनूँ म। बस्न आराम गर्न धर्ती ओछ्यान छ। किराले सक्काएर बाँकी रहेको टुक्राले अरुले दान सेवा भनेर फालिदिएका खानेकुरा चपाउने दाँत छ।अह्ह जिब्रो भने उस्तै छ बच्चा बेलादेखि नै ट्वाक्क स्वाद छुट्टाउन जान्ने।

शरीरमा छाला, हाड छ्न ।त्यो पनि बलिया,चाम्रा, हिम्मतिला। हात खुट्टा त्यसै काम्दै काम्दै सल्बलाउछ्न।त्यही पनि न दुइ पाइला अगि सर्न सक्छ्न न त केहि टिपेर मुखमा राख्न।खाना पनि हात कमाउदै टिपेर खानुपर्छ।सबैको मनोरञ्जन बनेको छु।अझै समाज र संसार मबाट धेरै पाइरहेछ।सबै काम छाडेर नि मानिस मलाई हेर्छन ।अनि दया र घृणाका कति शब्द दान गर्छ्न।अह्ह मेरो लागी मृत्युु पुकारिदिने पनि धेरै आउछ्न।म यो सड्क छेउको सानो ठाउँमा बस्दा पनि उनीहरुलाइ साँघुरो भएछ क्यारे ! र पनि एक महान् अदृश्य मन छ सबैलाई सम्झने बुझ्ने मान्ने, मनाउने।यहि मनले त मलाई यहाँ सम्म ल्याइ पुर्यायो जुन मन मैभित्र छ र पनि म आफैंले बुझ्न चिन्न सकेकी छैन।आफैंमा अचम्म! लाग्छ।

मलाई त अझै यसरी बस्नमा न कुनै गुनासो छ,न रहर अनि न त कुनै सङकोच । न त कुनै बाधा , विवशता। बस मेरो एउटै इच्छा छ अब मलाई देखेर कसैले हिम्मत नहारून साहस र धैर्यले खुशी खुशी सङघर्ष गरेर बाच्न सिकून।

गुनासो पनि अब के अनि कोसँग गर्ने यहि धर्ती, यहि आकाश,यीनै ढुङ्गा,माटो,हावा,पानी त मैले मानेको आफ्नो र मलाई आफ्नो मान्ने आफन्त हुन।जससंग गुनासो गर्ने कुनै कुरा छैन।आकाशले छानो बनेर मलाई ओत दिदैछ।धर्तीले ओछ्यान बनेर आराम गर्न दिरहेछ।ढुङ्गा माटो मेरा सहारा बनेका छन।जसलाई केहि भने पनि नभने पनि सधैं मैसंग पाउछु।बाकी रहे यो दुनियाँ र दुनियाँभरका मानिसहरु।उनिहरु त झन मेरा आफ्ना हुन।बरु कहिलेकाही लाग्छ कतै यो दोबाटोमा बसेर म उनीहरुलाई बाधा त पुर्याइरहेकी छैन।उनिहरुको नजर र कदम मलाई देखेर अलमल हुदा यहाँदेखी कतै टाढा जान मन लाग्छ।विवशता न म हिंड्न् सक्छु न केहि गर्न।फेरि पनि मानिसहरु मलाई देखेर अझै जल्छ्न। त्यो थाहा पाएर म पनि जल्छु आखिर किन ? के छ र मेरो यहाँ यहि सडक छेउको तमासा बाहेक।

अह्ह भन्दै थिए बिचैमा कता कता पुगेछु । थाहै नपाई बाल्यकाल सकियो भनौं भने त्यस बेलाका साथी खेल खेल्दाका चुङगी, कबडी,दौड याद आउँछ। ढुङ्गा माटोको भात तिहुन,पातको थाल कचौरो पातकै पैसामा रमेका ती दिन पनि याद छ, भोको पेट र चिसो कठ्याङग्रीएको शरीर पनि यस्ता खाना र लुगामा समय यहि रोकिए हुन्थ्यो भन्ने कामनामा हुन्थ्यो त्यस उमेरमा।किशोरावस्थामा कसैसंग नजर जुधेर मुटुका धड्कन बढ्दै गर्दा साथिले जिस्काएर रहर पुग्ने गरि अनुभव गर्न नपाएको सम्झना पनि छ।त्यतिबेला थोरै रिस अनि धेरै लाज लागेर भुतुक्क भइन्थ्यो। त्यसपछि १७/१८ वर्षमै बिहे भयो।त्यो पनि अरु कसैको रहर इच्छा पुरा गरिदिन रे भनिएको थियो।अहिले लाग्छ मलाई मेरो लागि इच्छा भन्नेहरुले केवल बोझ पन्छाएका रहेछ्न।कर्तव्य पुरा गरेका रहेछ्न।तर मलाई त उनीहरुले खेतबारी या बगैंचाको झार उखेलेर फाले झैं फालिदिए।देखाउन भनेर दाइजो दिएका थिए रे।पछि थाहा पाए।जन्मेर ४/५ वर्षमा जोडिएको साथी समुह रमाइलो गफ भेटघाट सबै बिचमै छुटे। तर यादहरु भने यो बुढेसकालमा आँखै वरिपरि त्यो बेला भन्दा रमाइलो गरि नाचिरहन्छ,र त! मेरो मुस्कान छुट्छ अनि देख्नेहरु मलाई पागल बुढी भन्दै गर्न पाएका छ्न।धन्य म यसरी आफ्नो अनि अरुको हसाइ बन्न सकेकी छु।
भैगो जे होस्।त्यसपछि वैवाहिक जीवन त भनी हाले सबैलाई मान्दै र मनाउदैमा सकियो।वैवाहिक जिवनको साथी सबैभन्दा आफ्नो हुन्छ रे!थ्यो पनि।बल्ल बिहान बेलुका झल्याकझुलुक देख्ने अवसर मिल्दा यति मिठो मुस्कुराउथ्यो नि म आफ्नो होस गुमाउथे।त्यही मुस्कानको दर्शन गर्न प्रतीक्षा हुन्थ्यो मलाई। तर ऊ आफ्नो पढाई छ भनेर व्यस्त रहन्थ्यो।होला त नि भनेर म अरुको मुस्कान बढाए फिर्तामा त्यही पाउन सकिएला कि भन्दै घर धन्दामा लाग्थे।अरुको खुशिको दौड्धुपमा मैले आफ्नो मुस्कान बिस्तारै गुमाइसकेको थिए।अहिले याद हुन्छ।अरुको खुसीमा आफ्नो खुशी खोज्दै गर्दा आफूलाई हराइदो रहेछ।त्यो सबै त भन्नकै लागी भनिने क्षणिक भनाइ जो रहेछ्न।कहि दु:ख र सङघर्षमा खुशी हुन्छ?त्यहाँ त,मुर्खता मात्र हुने रहेछ।मेरो भोगाइले त्यही भन्छ।यदि त्यही मेरो काम र त्यागको मुल्यांकन हुन्थ्यो र बदलामा मैले पनि समान व्यबहार हासो खुशी नसक्ने अवस्थामा सेवा सुबिधा पाउथे भने म नि भन्थे हासेर हो,हर दु:ख र संघर्षले खुशिका बहार छर्छ भनेर।आज यति भन्छु हर प्राणीको जिवन संघर्षपूर्ण छ।
त्यसपछिको जिवन यात्रामा छोराछोरी आउछ्न।सानो छउन्जेल मर्लान भन्ने चिन्ता हुर्केपछी मार्लान भन्ने। सुख खुशी यहाँ पनि छैन।छोराछोरी ढिला जन्माए बाँझी हो भन्न सुरु हुन्छ नजन्मए घर समाजमा कहिले राम्रो बोलि वचन त के बाटै फेरेर हिड्न थाल्छन।

सुन्दै छु मेरा पति अहिले गुनासो गर्दै छ्न रे।मैले गरेर आज उनले आफू चाहेजसरी बाच्न सकेँ। तर उसको लागि मैले केहि गर्न सकिन।ऊ किन यति सजिली बनेर गएथी भन्छन रे। खै! सजिलो के अप्ठेरो भन्नु अब,उनले भने पुग्छ।भोग्नु मैले परेको थ्यो।भोगे पनि अब त सम्झदैमा सकिन्छ।कुन बेला हुरुक्क हुन्छु अनि अस्तित्व सकिन्छ।उता पनि २ छोरी एक छोरा छन रे भनेर सुनेको थिएँ। छोराछोरी त मेरा पनि थिए।जसरी पतिले सजिलै आफ्नो बाटो सोझ्याएर सजाएका थिए नि त्यसरी नै छोराछोरीले आफ्नो जिन्दगीको बाटो सजाए।उनीहरुको खुशी नै मेरो खुशी थ्यो।म त्यही भनेर मन बुझाउदै आज यस अवस्थामा आईपुगें । बिचमा भेटिएका सबै बिचमै छुटे।आफन्त साथी सबै।आज यहि प्रकृति र मेरो बुढो अशक्त शरीर मात्र छ।प्रकृतिले पनि के नियम बनाको होला।सबै भोगेर बिदा हुनुपर्ने।कसैलाई राम्रो साथ सहयोग मिल्ने।कसैलाई साथ सहयोग दिएकाहरुले थोरै साथ त के दया पनि नपाउने।
हुन त मैले पनि कसैको जीवनमा जबर्जस्त रहन खोजिन त्यसैले पनि एक्लिन पुगे।पतिलाई सजिलै छाडिदिएँ ए।छोरीलाई उसकै इच्छाअनुसार पढाएर बिहे गरिदिएँ ।उसलाई कहिले भनिन कि तैले मलाई पनि हेर्न आ भनेर।सधैं सम्झाउथे जे गर्दा तँ र तेरो परिवार जिवनको हित हुन्छ त्यही गर भनेर सिकाएँ ।नभन्दै उसले त्यसै गरि घर परिवार राम्रै थियो।सम्धी सम्धिनी सहयोगी थिए।भन्थी मलाई त्यहाँ पनि यता जस्तै छ ममि।कुनै अप्ठ्यारो छैन।बिस्तारै छोरी ज्वाइ आफ्नो व्यवस्था गरेर दुवै जना संगै विदेश गए।सुरुमा मैले घर बस्न पाउन्जेल महिना दिन छ महिनामा कुराकानी हुन्थ्यो।नजिक भए झगडा नि हुने वास्ता नि हुने रहेछ।टाढा भएपछि केहि पनि नहुने।छोरा पनि त्यही सुरुमा दिनकै फोनमा कुराकानी हुन्थ्यो बिस्तारै हप्ता दिन महिना दिन हुदै पातालियो।उसले उतै घरजम गर्यो।यता बिर्सियो।मलाई पनि त्यही बस्न बोलाउथ्यो।मैले नै मानिन।जाउ जस्तै लागेन उनीहरुको व्यस्त जिवनमा बाधा बन्न।जब घर कर्जा तिर्न नसकेर छाड्नुपर्यो त्यसपछी दिनभर भौतारिन्थे।आज रात कहाँ बस्ने के खाने भनेर हिड्थे।यसरी नै बिस्तारै म हिंड्न् नसक्ने अवस्थामा पुगे।सबैसँग सम्बन्ध टुट्यो।ममा पनि शारीरिक मानसिक दुबै शक्ती टुट्यो।आशा रहर सपना कल्पना भने झनै बढ्दै थिए।सङगै बाध्यता विवशता लाचारी र आत्मग्लानी पनि बढेर सगरमाथा चढ्न लागेझै गर्थे।तर होस आउदा म त्यही सडक छेउ पाउँथे ।धेरैको नजर छरेर दया र घृणा पिएर साहसले सास फेर्दै।चाउरी परेका छाला फुलेको लामो समयदेखी नकोरेको कपाल।केहि लामा केहि छोटा मैला काला नङ।फुटेका खाली खुट्टा।कसैले फालेको पुराना मैला लुगा त्यसमाथि धुलोमैलोले सजिएका।आफैंलाई हेरेर लामो सास तान्दै उफ ! म भन्थे।अरु त कसले बोल्थ्यो बोलाउथ्यो र यहाँ मलाई ।बोल्न पनि रहर भएथ्यो।आफ्नो आवज आफैले बोलेर आफैले सुन्नुपर्ने भिडैभिड्बिचको त्यो स्वतन्त्र र एक्लो संसारमा थिएँ म।

मैले नि जन्माएँ एक छोरो एक छोरी।बिस्तारै हुर्किए।संयुक्त परिवार थियो।सबैले पालैपालो हेरविचार गरेर हुर्किए।छोराछोरी दुवैले राम्रो पढे।सायद मलाई देखेर होला।मेरो जिवनशैली बुझेर हो कि समाजमा मजस्तो धेरै उदाहरण देखेर हो।आफ्नो बाटोमा सफल थिए राम्रो गरिरहेका थिए। खर्च आजभन्दा भोली बढिरहेको थियो।थोरै कमाइ भए पनि आफ्ना र छोराछोरीका साना साना रहर र आवश्यकता पुरा गरिदिने सानो जागिर पनि थियो।परिवार सबै मिलेर छोराछोरीको पढाई,आवतजावत साथीसंगत अनुसार सकेसम्म पुर्याइरहेका थियौं।
को सधैं बाँच्छ र ! जन्म संगै मृत्यु त निश्चित छ। आमा बुबा पनि ३ वर्षको अन्तरमा हामी र धर्तीबाट बिदा भए।त्यसको केहि वर्षपछि मेरा पतिले मलाई हाँसीहाँसी बिदा दिए।तिमि आफ्नो बाटोमा सफल छौ खुशी छौ। तिम्रो कारण म पनि खुशी छु, मसँग नि सबै छ।अब एउटा खुशी थपिदेउ भन्दै विनम्र अनुरोध गर्दा मैले हार्न सकिन।उनलाई उनको त्यो खुशीको लागी मैले बिछोड सहजै स्वीकार गरें । त्यागिदिएँ पतिलाई सजिलै।अरुले भन्थे सजिलै किन जान दिईस भनेर तर के थाहा कति रात अनिन्द्रा र आँसुमा म छट्पटीएं , तडपिएँ भनेर म र मेरो ती कोठा र त्याहाँ वरिपरिका सामान र मेरा यादहरुलाई मात्र थाहा छ।मैले उसलाई आफूसंग राखेर पनि धिक्कार मान्दै रहनु अनि एकै ठाउँमा रहेर दुवै दिनकै तनावमा बस्नु भन्दा होस।मैले नपाएको खुशी उसले पाओस भोगोस सुख सयल र आत्मसन्तोषको जिन्दगी भनेर छाडिदिए। बिस्तार यसरी त्याग्ने छाड्ने टाढिने क्रम बढ्न थाल्यो।छोरीको बिहे भयो।छोरी ज्वाईं विदेश पुगे।छोरो पनि पढाई भन्दै विदेशीयो भएको घरखेत धितो राखेर पठाए।बेलाबेला खबर गर्थ्यो। कमाइ छैन आमा जसोतसो व्यवस्था मिलाउदै छु भन्थ्यो।बिस्तारै खबर आउन छाड्यो।बैंकले सबै लियो।म केहि जोगाउन नसक्ने अवस्थामा पुगे।केहि दिन आफन्त छिमेकी कहाँ गुजारा चल्यो।समाजमा अनेकौं कुरा सुन्न थालेपछि सहन सकिन सबै छाडेर हिडें ।आउदा आउदा आज सडक नै संसार बन्यो।अझै खै कति वर्ष यहि संसारमा याद र छट्पटीमा रमाउनु छ मैले। तर पनि हार मानेकी छैन।

जीवन लडाइँ रहेछ।अरुसङग कति लडाइँ लडेर जित्दा पनि आफैंमा हार हुदो रहेछ।त्यसैले भन्छु जिन्दगिको लडाइँमा जसरी अरुसङगको लडाइँ जित्न सफल भइन्छ त्यसरी नै आफूले आफैंसंग जितेर लड्न सक्नुपर्छ। यहि छ यहाँ धेरैलाई जितेर आफैंमा हार नहोस्।आफू अनि आफूसंग जोडिएको हर प्रसङ्ग र सम्बन्धमा स्वार्थको तराजुलाई तौलिदै जिन्दगी जिउन सक्नुपर्छ।अझै बाच्ने रहर छ।सबैलाई देख्ने भेट्ने र आखाले अघाउन्जेल हेर्ने रहर छ।बस बोल्न भने मन छैन।नि:शब्द छु।