कोमल ओलीबारे बेकारको क्यारक्यार !

This News was posted on January 29, 18 4:26 pm

गोपाल सञ्जेल


समाचार वाचन होस् वा लोकदोहोरी गायन, गीतका गेडाका सन्दर्भ हुन् या निजीमामिला । एक न एक कुरोमा उनीलाई चर्चाले पछ्याएकै हुन्थ्यो । हरबखत न्युजमेकर नै हुन्थिन् उनी । सञ्चार सीप, गला र कलामार्फत प्रसस्ती र प्रसिद्धि दुवै कमाएकी कोमल ओली एकाएक थप चर्चामा आउन चाहिन् । नितान्त फरक र जोखिम बाटो राजनीति रोजेर ।

प्रतिष्ठित् सञ्चारमाध्यम रेडियो नेपालको छँदाखाँदाको जागिर छोडेर राजनीतिमा हाम फालिन् । त्यो पनि राजावादी पार्टीमा । त्यहाँ उनले केन्द्रीय नेतृत्वको हैसियत छिट्टै बनाइन् । महत्वाकांक्षी कोमलले राप्रपाबाट दीर्घकालीन राजनीति थेग्ने देखिनन् । नेकपा एमालले उनको हैसियतसहित स्थान दिन राजी भएपछि उनी एमाले बनिन् । त्यहाँ पनि उनी हाइहाइ नै भइन् । गृहजिल्ला दाङबाट निर्वाचनमा उम्मेदवार बन्ने उनको राजनीतिमा हाम फाल्दा नै घोषित थियो । एमाले हुँदा उनी त्यही कुरोमा विश्वस्त थिइन् ।

मिडियामा त्यसैगरी प्रस्तुत हुन्थिन् । पार्टीले ‘नो’ को प्रतिक्रिया नदिएपछि उनी प्रतिनिधिसभामा उम्मेदवारी पाउनेमा ढुक्कै थिइन् । तर, उनलाई पार्टीले उम्मेदवारी बनाएन । अपेक्षा वितरीत निर्णय भएपछि उनी झन्डै पार्टी नै छोड्ने मुडमा पुगिन् । स्वतन्त्र उम्मेदवारी दर्तासमेत गरिन् । तर, सम्हालिन् । उम्मेदवारी फिर्ता गरेर पार्टीको प्रचारमा लागिन् । समानुपातिक सूचीमा नाम नभएपछि उनको राष्ट्रियसभामा मौका बाँकी थियो । सायद, त्यसको भरपर्दो आश्वासन त्यतिबेलै पाएकी पनि थिइन् होला ।

जब उनलाई पार्टीले राष्ट्रियसभामा उम्मेदवार बनायो तब उनीबारे खिसीट्युरीमै झरेर चर्चा शुरु भयो । अनेक मान्छेसँगका नामनामेसी र पुस्त्यौली उतार्दै पार्टीले इतिहास बिर्सेर, भुलेर, लत्याएर, कोमल ओलीजस्ती गैरराजनीतिक व्यक्तिलाई राष्ट्रियसभामा पठायो भन्दै सामाजिक सञ्जालमा उखर्मैलो मच्चाए । गीतसङ्गीतको मर्म नबुझी बेप्रसङ्ग र बेढङ्गका कुतर्क जोड्दै गिनेचिनेका व्यक्तिहरुसमेत कोमल ओलीको खोइरो खन्न लागे । पार्टीका एक थरी कार्यकर्ताहरु पनि हो कि क्या हो भन्दै हुइँयामा लागे । स्थिति यस्तो देखियो कि बेकारका क्यारक्यारले कोमल ओलीलाई व्यर्थै राजनीतिमा हाम फालेछु, व्यर्थै एमाले बनेछु भन्नेसम्म सोच बन्यो होला ।

हो, राजनीति सहज त पक्कै हुन्न । सरल पनि झनै हुन्न । सोचेजस्तो नि हुन्न । चाहेजस्तो पनि कहाँ हात लाग्छ र ? तर यसो भन्दैमा अपमानित पनि त हुनु हुन्न नि ! स्वाभिमान गिर्न पनि त हुन्न नि ! के कोमल ओली राष्ट्रियसभाका लागि पनि योग्य छैनन् ? उनी हकदार हुन सक्दिनन् ? गीत, सङ्गीत, कला, साहित्यमा विशिष्ठ योगदान पुर्याएका वा राष्ट्रिय जीवनमा अहम् भूमिका निर्वाह गरेका व्यक्तिहरुलाई लैजानु पर्ने होइन राष्ट्रियसभामा ? यो विधि र प्रक्रियामा उनी उपयुक्त पात्र होइनन् ? पुरानाले पाएनन् भन्ने हो भने त कोमल ओलीबाहेक सबै पुरानै अनुहार छन् । कोमल ओलीलाई गैरराजनीतिक वा राजनीतिक योगदान नभएको भन्ने हो भने वा पार्टीकै नेता कार्यकर्ताले भर्ने हो भने रष्ट्रियसभाको परिभाषा फेर्नुपर्ने हुन्छ । होइन भने राष्ट्रियसभा त कोमल ओलीहरुकै लागि हो ।

राजनीतिक हैसियत भएकाको लागि त प्रतिनिधिसभा, प्रदेशसभा र यी दुवै सभामा समानुपातिक सिट छँदै छ नि ! ७५३ वटा स्थानीय तह पनि छन् । त्यहाँ राजनीतिक व्यक्तिले हैसियतअनुसार अवसर पाउनुपर्छ । किनकि देश राजनीतिले नै हाँक्ने हो । फेरि कोमल ओलीले राजनीतिक रुपमा सुझबुझसहित हाम फालेकी हुन् । मानसिक रुपमा राजनीतिक निखारता दिँदै आएकी छन् । उनलाई गैरराजनीतिक व्यक्ति भन्नै सुहाउँदैन । कुन पार्टीमा लाग्ने भन्ने त उनको निजी रोजाइको स्वातन्त्रताको विषय हो । त्यसो हुँदा राष्ट्रियसभाका लागि कोमल ओली झन् उपयुक्त पात्र हुन् । कुशल सर्जकसहितको राजनीतिक व्यक्ति ।

कोरा राजनीतिले काम लागेन पनि भन्ने अनि कोमल ओलीहरु राजनीतिमा आए भनेर आरिस गर्नेहरुलाई त के नै भन्न सकिन्छ र ? तरै पनि रष्ट्रियसभा भनेको राष्ट्रिय जीवनमा योगदान पु¥याएकाहरुलाई नै लैजानुपर्छ । कोमल ओलीहरुलाई नै लैजानुपर्छ । बरु ५९ सिटको राष्ट्रियसभामा त्यसो पो गरिएको छैन त ! क्यारक्यार कोमल ओलीप्रति होइन दलहरुले राष्ट्रियसभामा राष्ट्रिय व्यक्तित्वहरु भुलेको छ । छलेको छ । छोडेको छ । त्यतैतिर पो गर्नुपर्छ त !