गुगललाई दुई दशमलव सात अर्ब डलर जरिवाना

This News was posted on June 28, 17 10:33 am

 

एजेन्सी-  विश्वमै ख्यातिप्राप्त सर्च इन्जिन गुगललाई सर्च रिजल्टमा आफ्नै किनमेल सेवाको प्रवर्धन गरेर शक्तिको दुरुपयोग गरेको भन्दै युरोपेली आयोगले दुई दशमलव सात अर्ब डलर जरिवानाको फैसला गरेको छ ।

बजारलाई प्रभावित पार्न खोजेको आरोप लागेको कुनै पनि कम्पनीविरुद्ध उक्त नियामक निकायले लागु गरेको यो नै सबैभन्दा ठूलो रकमको जरिवाना हो ।
उक्त जरिवाना आदेशले गुगललाई उसको प्रतिस्पर्धा–विरोधी क्रियाकलाप आगामी ९० दिन भित्र बन्द गर्न अन्यथा थप दण्डका लागि तयार रहन समेत चेतावनी दिएको छ ।

गुगलले भने आफू विरुद्धको त्यस्तो कदमप्रति पुनरावेदन गर्ने संकेत दिएको छ ।

तर किनमेल परामर्श सेवा संचालन गर्ने तरिकामा गुगलले तीन महिने समयसीमा भित्र परिवर्तन नगरेमा सो कम्पनीलाई उस्को माउ कम्पनी अल्फाबेटले दैनिक विश्वव्यापी रुपमा गर्ने औसत आम्दानीको ५५ प्रतिशतले हुन आउने रकम जरिवाना हुन सक्नेछ ।

उक्त कम्पनीले सार्वजनिक गरेको पछिल्लो वित्तिय प्रतिवेदनका आधारमा त्यो भनेको दैनिक करिब एक करोड चालिस लाख डलर हुन आउँछ । उक्त कम्पनीका प्रवक्ताले युरोपेली आयोगको फैसलाप्रति प्रतिक्रिया जनाउँदै भने, “हामी आज घोषित निर्णयहरुप्रति सम्मानपूर्वक असहमति जनाउँछौं । हामीले पुनरावेदन गर्ने हुनाले आयोगको निर्णयलाई विस्तृत रुपमा समिक्षा गर्नेछौं र हाम्रो तर्फको भनाइ राख्न जारी नै राख्नेछौं ।”