गुणस्तर शिक्षाका २७ बुँदे सम्झौता

This News was posted on July 28, 18 11:09 am

भक्तपुर । ०७५ जेठ ३ गते

रमेशप्रसाद तिमल्सिना

सूर्यविनायकले नगरपालिकाले जिल्लाका सामुदायिक विद्यालयहरुसँग गुणस्तरीय शिक्षाका लागि २७ बुँदे कार्यसम्पादन सम्झौता गरेको छ ।  नगरपालिकाले ०७५ जेठ ३ गते एक बृहत भेला गरी नगर भित्रका ४० ओटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु र नगर प्रमुखबीचमा सम्झौता गरेको हो ।

नगरपालिकाका प्रमुख वासुदेव थापाले विद्यालयको व्यवस्थापकीय सुधार तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग २७ बुँदे कार्यसम्पादन सम्झौता गरिएको बताए । संविधानले विद्यालय तहसम्मको शिक्षाको अधिकार स्थानीय सरकारलाई दिएपछि यो अधिकार कार्यान्वयनको शिलशिलामा सामुदायिक विद्यालयहरुमा खस्कँदै गएको शैक्षिक गुणस्तर सुधार्न यस अभियानको शुरुवात गरिएको उनले बताए ।

सूर्यविनायक नगरपालिकाभित्र नौ माध्यमिक र ३१ आधारभूत विद्यालय गरी कुल ४० ओटा सामुदायिक विद्यालय रहेका छन् । नगरपालिकाले सम्झौतामा प्रारम्भिक कक्षादेखि अंग्रेजी भाषाको माध्यमबाट पठनपाठन गर्ने, विद्यालय हाताभित्र शिक्षक तथा विद्यार्थीको सहभागितामा फूलबारी तथा करेसाबारीको व्यवस्था गरी स्वच्छ, मनोरम र हराभरा बनाउने भनिएको छ ।

त्यस्तै, विद्यालयले प्रत्येक असार मसान्तसम्म विद्यालय सुधार योजना पेश गर्नुपर्ने, तोकिएको घण्टीमा अनिवार्य पढाइ हुनुपर्ने, विद्यालयको शैक्षिक क्यालेण्डर बनाउनुपर्ने, अतिरिक्त कक्षा अनिवार्य सञ्चालन गर्नुपर्ने, धुलोरहित तथा बालमैत्री कक्षा कोठा हुनुपर्ने, खेल सामग्रीको व्यवस्था गर्नुपर्ने, उत्कृष्ट नतिजा ल्याउने विषयगत शिक्षकलाई समेत पुरस्कृत गर्ने, विद्यार्थीको प्रतिभा पहिचान गर्नेलगायतका सम्झौता पत्रमा समेटिएको छ ।

प्रदेश नं ३ का प्रदेश सदस्य शशीजंग थापा, नगरप्रमुख थापा, नगरपालिकाका सामाजिक समिति संयोजक किरण थापा, शिक्षा अधिकृत सविता दंगाल लगायतको रोहवरमा उक्त सम्झौता भएको थियो ।