गोटिखेलमा कांग्रेस जिल्ला सचिवले गरे वडाअध्यक्षमाथि हातपात

This News was posted on December 6, 17 4:57 am

ललितपुर ।  रातको ११ नाघिसकेको थियो । मौनअवधिको सीमा तोड्दै नेपाली कांग्रेसका जिल्ला सचिव भीमसेन घिमिरे आफै कालेश्वर हुँदै गोटिखेलमा घार्रघुर्र गर्दै हिँडेको पाएपछि महाँकाल गाउँपालिका ३ नं. वडाअध्यक्ष गंगाराम तिमल्सिना बाहिर निस्के । दोहोरो कुराकानी भो ।

घिमिरे उल्टै भनाभनमा उत्रे । तिमल्सिनाले शालिन प्रतिवाद गरे । पराजित मानसिकताका कांग्रेसीहरु झन् उदण्ड बने । उनी आफैले गंगाराममाथि हातपात नै गरे ।

तिमल्सिनाले प्रतिवाद गरेपछि घिमिरे भागेर नजिकको प्रहरीचौकी पुगे । उनको उदण्डता थाहा पाएपछि अरु गाउँहरु पनि जम्मा भए । उनको घर घेरे । स्थिति सामान्य गर्न प्रहरीले उनलाई राती नै सुरक्षित मार्गमार्फत काठमाडौँ पठाएको बुझिएको छ । निज घिमिरे त्यहीँका मतदातासमेत भएकाले उनलाई मतदान गर्न समेत असहज बन्दै गएको बुझिन्छ । जिम्मेवार नेतृत्वमा रहेका व्यक्ति आफै हातपात र गुण्डागर्दीमा उत्रेपछि स्थिति सामान्य हुने कुरै भएन ।

मौनअवधिलाई मनी अवधि बनाउन कस्सिएका घिमिरे मात्र होइन,इकुडोलमा पनि कांग्रेसका कार्यकर्तालाई १२ बजे राती घरघर हिँडेको भेटिएपछि रातभर थुनिदिएका छन् । उता कांग्रेसका प्रतिनिधिसभाका उम्मेदवार तथा अर्थराज्य मन्त्री पनि गोदावरी र चापागाउँ क्षेत्रमा आफै मौनअवधि तोड्दै रातविरात हिँडेका छन् । हरेक चोकचोकमा वाम गठबन्धनका कार्यकर्ताहरु गस्ती गर्ने गरेको र अवाञ्छित गतिविधि गरेको पाइएमा सोधपुछ गर्ने र फर्काइदिने गरेका छन् । थप उदण्डता देखाउन थाले त्यस्तै जवाफ दिन तयार भएको एक वाम कार्यकर्ताले बताए ।