गोटीखेल प्रहरीले बलात्कार प्रयास घटनाका आरोपित भगायो, स्थानीयद्वारा आगजनी र तोडफोड

This News was posted on October 4, 18 4:43 pm

सन्तोष दहाल


ललितपूर । महांकाल गाउँपालिका ३, गोटीखेलमा अवस्थित इलाका प्रहरी कार्यालयले मानिखेलकी एक बालिकामाथि बलात्कार प्रयास गरेको आरोप लागेका भारतीय नागरिकलाई नै भगाएको आरोप छ ।

बालिकामाथि बलात्कारको प्रयास गर्ने भारत बिहारका बब्लुकुमार माझीलाई इलाका प्रहरी कार्यालयकै लापरवाहीका कारण फरार बनाईएको भन्दै पीडितका आफन्त र स्थानीयवासीले बिहीबार प्रहरी कार्यालय तोडफोड गरेका छन् । घटनापछी महानगरीय प्रहरी बृत्त चापागाउँका डिएसपी राजकुमार खिउजुको टोली गोटिखेल पुगेको स्थानीय श्याम तामाङ्गले उल्लेख गरेका छन् अहिले फरार रहेका आरोपित माझीलाई खोज्न व्यापक प्रहरी परिचालन गरिएको छ ।

आफ्ना भित्रि बस्त्रसमेत खोलेर बालिकालाई जबर्जस्ती गर्न खोजिरहेको अवस्थामा आमाबुलाले देखेपछि ति युवक नांगै भागेका थिए । बालिकाका आमाबाबुले गुहार मागेपछि भाग्दै गरेको अवस्थामा छिमेकीले ति युवकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय टुङ्गुनमा बुझाएको महांकाल गाउँपालिकाका प्रमुख रामचन्द्र दाहालले बताए ।

बालिकाको कोठाबाट ति युवकको पाइन्ट र भित्रि बस्त्र (अन्डरवेयर) समेत बरामद भएको छ । बालिकालाई बलात्कारको प्रयास गर्न खोज्ने ति युवकलाई स्थानीयले प्रहरीलाई बुझाए पनि प्रहरीले सोधपुछ गर्नका लागि भित्र बोलाएको र त्यहि मौकामा झ्यालबाट भगाएको स्थानीयको दावी छ ।

यस विषयमा बुझ्न खोज्दा प्रहरी सम्पर्कमा नै आउँन चाहेन । इलाका प्रहरी कार्यालय टुङ्गुन सम्पर्क नआएपछि चापागाँउ प्रहरीलाई समेत हामीले बारम्बार सम्पर्क गर्न खोज्दा फोन उठेन् । त्यहाँको अवस्था अहिले पनि तनावग्रस्त छ । प्रतक्ष्यदर्शीका अनुसार अहिले चापागाँउ प्रहरी वृतबाट डीएसपीको नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगेको छ ।