जनप्रतिनिधिको जोड अन्तरसम्वादमा

This News was posted on August 21, 18 2:19 pm

ललितपुर । भदौ ५ गते

स्थानीय तहका जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधिबिच नियमित अन्तरसम्वाद गर्नुपर्नेमा ललितपुरमा आयोजित एक कार्यक्रमका सरोकारवालाहरूले जोड दिएका छन् ।

Photo20180821Ktm

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ कार्यालय, काठमाडौँको आयोजनामा भदौ ५ गते गरिएको जनप्रतिनिधि र नागरिक सङ्गठनबिचको अन्तरसम्वादमा सहभागी सरोकारवालाहरूले यस्तो जोड दिएका हुन् ।

कार्यक्रममा प्रदेश सभाका सांसद चेतनाथ सञ्जेलले प्रदेशले सामाजिक सङ्घसंस्थासँग सम्बन्धित कानुन बनाउन लागेकाले सो क्षेत्रसँग बसेर मात्रै कानुन ल्याइने बताए । उनले भने-‘कति कुरा स्पष्टताका लागि पनि हामी सँगै बसेर छलफल गर्नुपर्छ ।’ उनका अनुसार सामाजिक सङ्घसंस्थासँग सम्बन्धित विधेयक दफावार छलफल गर्न बाँकी छ ।

महालक्ष्मी नगरपालिकाकी उपप्रमुख निर्मला थापाले नागरिकले अधिकारको प्रयोग गर्दा कर्तव्य भुल्न नहुने बताइन् । उनले भनिन्-‘कर बढी भयो भनिएको छ । के मा र कति बढी भनिँदैन ?’

Photo20180821Ktm (1)

उनले थपिन्-‘ स्थानीय तहलाई बदनाम गर्ने मनसायबाट यस्तो कुरा आएकाले सो नभनिएको हो ।’ उनका अनुसार महालक्ष्मी नगरपालिकामा काम गर्ने सङ्घसंस्थासँग सहकार्य र समन्वय गरिएको छ । नयाँ संरचनामा राज्य सञ्चालन सुरू गरिएकाले सबै मिलेर सफल बनाउन लाग्नुपर्नेमा उनको जोड छ । ‘हामी फेल भयौँ भने हामी मात्रै फेल हुँदैनौँ । हाम्रा नागरिक फेल हुन्छन् । प्रणाली फेल हुन्छ । राज्य नै फेल हुन्छ ।’-उनले भनिन् ।

कार्यक्रममा इन्सेक प्रदेश ३ कार्यालयका संयोजक कृष्ण गौतमले सामाजिक सङ्घसँस्था र स्थानीय तह एक आपसमा मिलेर काम गर्न सके मात्रै मुलुक समृद्ध हुने बताए ।

Photo20180821Ktm (2)

ललितपुर मानगरपालिका वडा नं १५ का अध्यक्ष सुदर्शन विष्टले कानुन र कर्मचारीको अभावका कारण पनि गर्न सकिने निकै काम सम्पन्न गर्न कठिनाई भएको बताए ।

महाङ्काल गाउँपालिकाका प्रवक्ता एवम् वडा नं ३ का अध्यक्ष गङ्गाराम तिमल्सिनाले जनप्रतिनिधि र नागरिक सङ्गठनका प्रतिनिधिको समान उद्देश्य समाजको सकारात्मक परिवर्तन गर्ने भएकाले सँगसँगै अघि बढ्नुको विकल्प नभएको बताए ।

गैरसरकारी संस्था महासङ्घ नेपाल ललितपुरका अध्यक्ष रामहरी घिमिरेले लोकतान्त्रिक विधिलाई व्यवहारमा उतार्न सके मात्र नागरिक अधिकार सुनिश्चित हुने बताए ।

रमेशप्रसाद तिमल्सिना