झरुवारासीमा १०८ श्रीमदभागवत भक्ति महायज्ञको आयोजना

This News was posted on July 19, 18 2:12 pm

 

सन्तोष दहाल , ललितपूर। गोदावरी नगरपालिका १३, झरुवारासीमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र तथा धर्मशाला निर्माणको पवित्र उद्देश्य राखी १०८ श्रीमद्भागवत स्वर्णिम कल्याण सेवा परिषद्को ५८ औं अनुष्ठानद्वारा झरुवारासिस्थित तासिन्चोकमा वृहत श्रीमद्भागवत भक्ति सत्संग महायज्ञको आयोजना हुने भएको छ ।

साउन ७ देखि १५ गतेसम्म सञ्चालन हुने महायज्ञमा कथा वाचन विदुषी अनुराधा शास्त्रीजीले गर्ने कार्यक्रम रहेको छ । देशव्यापी १०८ श्रीमदभागवत सत्संकल्प अभियानकर्ता मुमुक्षु श्री उद्धव शर्माको संकल्पमा महायज्ञ आयोजना हुन लागेको हो । साउन ७ गते बिहान कलशयात्रा सुरु भएर दिउँसो १ बजे महायज्ञ उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।महायज्ञभर हरेक दिन यज्ञ परिसरमा झाँकी लीला प्रदर्शन गरिनेछ भने बिहान ७: १५ बजे पुजा,९:१५ देखि पाठपारायण तथा १०: ४५ देखि अपराह्न ४: १५ बजेसम्म कथावाचनको समय निर्धारण गरिएको छ ।

प्रत्येक बेलुका ७: ४५ बजे महात्म्य संचालन हुनेछ । त्यस्तै साउन १४ गते लक्ष्यदीप प्रज्वलन, १०८ शालीग्राम पूजाअर्चना परिक्रमा र प्रत्येक सोमवार गोदावरी सन्तानेश्वर बोलबोम यात्रा समेत गरिने युवा सूचना केन्द्रका अध्यक्ष सुवास घिमिरेले जानकारी दिएका छन्। शिवभाक्तिको लागि विशेष मानिएको साउनको महिनामा यहाँ रहेको सन्तानेश्वर महादेवको दर्शन गर्न टाढा टाढादेखि आउने दर्शनार्थीहरुका लागि समेत लक्षित गरेर महायज्ञको आयोजना गरिएको र हजारौं भक्तजनहरुले यज्ञको दर्शन गर्ने अपेक्षा रहेको घिमिरेको भनाई छ ।

आयोजक १०८ श्रीमद्भागवत स्वर्णिम कल्याण सेवा परिषद्को ५८ औं अनुष्ठानले सम्बन्धित सबै भक्तजनहरुलाई सातै दिन महायज्ञमा सहभागी भएर शोभा बढाउनुका साथै सक्दो सेवा तथा सहयोग गरी आत्मिक ज्ञानका साथै पुण्य प्राप्त गर्नका लागि पनि आग्रह गरेको छ।