ठेचो-चापागाउँ चारदिनदेखि बन्द ! ठेकेदारद्वारा नयाँ रेटको माग

This News was posted on May 13, 19 2:18 pm

ललितपुर । वैशाख ३० गते
शुक्रबारबाट अवरोध भएको ललितपुरको चापागाउँ सडक ४ दिनसम्म पनि सञ्चालनमा आएको छैन । ०७२ सालमा २० मिटरमा विस्तार सुरु भएको सडक ४ वर्षसम्म पनि निर्माण सम्पन्न भएको छैन । सर्वोच्च अदालतलले सडक विस्तार गर्दा भत्काइने संरचनाको क्षतिपूर्ति र जमिनको मुआब्जा दिन गएको असारमा अन्तरिम आदेश दिएपछि सडक विस्तार समयमै सम्पन्न हुन नसकेको सडक विभाग उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता इन्जिनियर विश्वविजयलाल श्रेष्ठले बताए ।

ढोलाहिटी–चापागाउँ–लेले करिब १२ किमि सडक विस्तार र पिच गर्ने ठेक्का कन्टेक निर्माण सेवा प्रालिले लिएको हो । सडक विभागले एग्रिमेन्टअनुसार साइट क्लियर नगरेको भन्दै कम्पनीले काम गर्न नसकेपछि सडकमा बर्खामा हिलो र हिउँदमा धुलोको सास्ती सर्वसाधारणले बेहोर्दै आएका छन् ।

गएको वर्ष नै मन्त्रिपरिषद् बैठकले उपत्यकामा विस्तारका लागि सुरु गरिएका सडकमा उपलब्ध भएको र विवाद नभएको स्थानमा कालोपत्रे गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि काठमाडौंको त्रिपुरेश्वर–नागढुङ्गा सडकको केही स्थान शैलुङ, कान्छाराम र शर्मा कन्स्ट्रक्सन जेभीले पिच गरेका छन् ।

तर, चापागाउँ खण्डको सडक कन्टेक निर्माण प्रालिले पिच गर्न नमानेको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बताए । “नाली नबनाई पिच गर्दा बर्खामा पानीले पिच उप्किने भन्दै ठेकेदार कम्पनीले सडक पिच गर्न मानेको छैन । स्थानीयको माग जसरी पनि सडक पिच गर भन्ने छ,” मेयर महर्जनले बाह्रखरीसँग भने, “एग्रिमेन्टअनुसार २० मिटर साइट क्लियर भएपछि मात्र पिच गर्ने कम्पनीको अडान हो । हामीले उसलाई स्थानीयको मर्का बुझेर काम गर्न अनुरोध गर्दैछौं ।”

स्थानीयको अवरोधका कारण सोमबारसम्म त्यहाँको सडक पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । स्थानीय तह, प्रशासन र राजनीतिक दलका प्रतिनिधिले आफ्नो माग बेवास्ता गरेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । आइतबारबाट सडक निर्माण संघर्ष समितिले सडक कालोपत्रे नभएसम्म सडक बन्द गर्न आह्वान गरेको छ ।

चापागाउँको टाहाखेलदेखि धापाखेल दोबाटोका विभिन्न स्थानमा स्थानीय सडकमै टेन्ट गाडेर बसेको स्थानीय ललितबहादुर खड्काले बताए । स्थानीयको अवरोधका कारण एम्बुलेन्स र खानेपानी ट्याङ्करसमेत चल्न पाएका छैनन् ।

उक्त सडकमा शुक्रबारदेखि नै सार्वजनिक यातायात सेवा प्रभावित बनेको छ । “स्थानीयले सडक अवरुद्ध पारेर समस्या समाधान हुने होइन । पहिला विभागले हामीसँग गरेको एग्रिमेन्टअनुसार साइट क्लियर गरोस्, त्यसपछि मात्र हामी काम गर्छौं,” कन्टेक निर्माण प्रालिका मेनेजर उद्ववप्रसाद भण्डारीले भने, “अब पुरानो रेटमा काम गर्ने अवस्थामा हामी छैनौं । भौतिक मन्त्रीले नयाँ रेट बनाएर काम गर्न भनेपछि हामी काम गर्छौं ।”
१२खरी डट कमबाट साभार