ठेचो हेल्थपोष्टमा साउन्डप्रुफ जाँचकक्ष

This News was posted on February 14, 18 1:26 pm

२ फागुन, ललितपुर ।
समाचारसँगै फोटो हेर्नुस् न ! म्युजिक रेकर्डिङ स्टुडियोजस्तो लाग्छ । तर उभिएका व्यक्तिसँगै बेड देख्दा भने अल्मलिने सम्भावना हुन्छ । तर, पाठकवृन्द !अल्मलिनु पर्दैन कि देखिएको तस्वीर गोदावरी नगरपालिकास्थित ठेचो हेल्थपोष्टको गर्भवती, प्रसुती तथा सुत्केरी जाँचकक्ष हो ।

यसो भन्दा पक्कै पनि यहाँहरुको जिज्ञासा हुनसक्छ, किन होला नि यस्तो अत्याधुनिक जाँचकक्ष ? तस्वीरमा देखिएका ठेचो हेल्थपोष्टका स्वास्थ्यकर्मी केशव खड्का भन्छन्, ‘गर्भवती, प्रसुती वा सुत्केरी भन्ने वित्तिकै महिलासँग सम्बन्धित विशेष अवस्था भनेर बुझ्नुपर्छ । विशेष अवस्था भनेपछि उनीहरुका विशेष गोपनियता र निजी शारीरिक मामिला हुन्छन् । यही विशेष अवस्थामा स्वास्थ्यचौकीजस्तो सार्वजनिकस्थलमा निजी गोपनीयतालाई विशेष रुपले सम्बोधन गरिनु एकदमै जरुरी हुन्छ । यही कुरो हामीले यहाँ उठायौँ । जिल्ला जनस्वास्थ्य कार्यालय र गैसस होमनेट नेपालको साझेदारी सहयोगमा यो अत्याधुनिक साउन्डप्रुफ जाँचकक्ष निर्माण भई सञ्चालनआ आएको छ ।’

यस किसिमको जाँचकक्ष निर्माणपछि गर्भवती, प्रसती तथा सुत्केरी महिलाहरुको प्रभाव कस्तो पाउनु भएको छ, भन्दा स्वास्थ्यकर्मी खड्काको प्रतिकृया थियो, ‘महिलाहरुको जाँच गर्न आउने संख्यामा ह्वात्तै वृद्धि भएको छ । यस जाँचकक्षमा जाँच गर्न पाउँदा आफूलाई निर्धक्क महसुस गर्नुहुन्छ । यो नै मूख्य पक्ष हो । सम्भवतः यो देशकै पहिलो र एकमात्र जाँचकक्ष हुनसक्छ । हरेक स्वास्थ्यचौकीहरुमा यसखाले जाँचकक्षको आवश्यता देखिन्छ । यसको प्रयोगमा दक्ष प्रसुतीकर्मी र पर्याप्त साधनस्रोतमा नगरपालिकाले ध्यान दिनु आवश्यक छ ।’