नम्बर त दियौँ, नलेज नि ? – गोपाल सञ्जेल

This News was posted on June 17, 17 7:04 am


संवत् २०६७ सालको एसएलसी परीक्षामा अङ्ग्रेजी विषयको प्रश्नप्रत्रमा १२ अङ्कभारको एउटै प्रश्न ‘ब्रेशफिडिङ’ शीर्षकमा निबन्ध लेख्नुपर्ने थियो । त्यही साल सामुदायिक विद्यालयतका विद्यार्थीहरु अङ्ग्रेजी विषयमा भसक्कै अनुत्तीर्ण भए । परीक्षाको परिणाम किन यस्तो भयो भन्दा शिक्षकहरुले सहजै जवाफ दिए, ‘कुरो अर्कै छ, उनीहरुले कण्ठ गरेको पनि मिलेन, गोजीमा लुकाएर लगेको माल पनि मिलेन ! त्यसपछि त अधिकांश विद्यार्थीहरु आत्तिएर सजिला प्रश्नहरुको जवाफ दिन पनि नसक्ने भए !’
सामुदायिक विद्यालयका अधिकांश विद्यार्थीहरुलाई अङ्ग्रेजीको भूतले सधैँजसो पिरोल्ने गर्छ । विद्यालयमा राम्रै अङ्क ल्याएर उत्तीर्ण भएका विद्यार्थीहरु पनि एसएलसी परीक्षामा ठूलै सङ्ख्यामा अनुत्तीर्ण हुन्छन् । अङ्ग्रेजीसँगसँगै गणित र विज्ञान विषयले पनि हरेक विद्यार्थीहरुलाई सातो लिइरहेको हुन्छ । परीक्षा हलमा जाँदा अधिकांश विद्यार्थीहरु बलिदिने बेलाको पर्सेको पाठोजस्तो मनस्थिति बोकेर गएका हुन्छन् । परीक्षा भनेको फलामे ढोका ९क्ष्चयल न्बतभ० हो भनेर चित्रित गरिन्छ । विचरा विद्यार्थीहरुलाई ढोका पार नगरी धर पनि छैन अनि तोड्नै नसक्ने फलामे ढोका भनेर तर्साउनाले उनीहरुको बालमनस्थितिमा कस्तो असर पर्छ होला ? परीक्षा भनेको फलामे ढोका होइन खुला राजमार्ग हो जहाँ विद्यार्थीहरु निस्फिक्री यात्रा गर्न र गन्तव्यमा सकुशल पुग्न सक्छन् भन्ने आत्मविश्वास जगाउनु नै ज्ञानको एक तह पार भएको मान्न सकिन्छ । यो पवित्र कार्य गर्ने अवसर शिक्षकहरुलाई मात्र छ ।
विद्यार्थीहरुले प्रश्नको जवाफ दिन नसकेर दाँतबाट पसिना निकाल्यो भने मैले त क्या दामी प्रश्न तय गर्न सकेँ भनेर शिक्षकहरुले गर्व गर्ने परिपाटी ज्युँका त्युँ छ । अझ पढाउँदा विषयवस्तुको ज्ञानभन्दा पाठ्यक्रमका लिखतलाई केन्द्रीत गरेर पाठवाचन सुनाइदिएपछि शिक्षकको भूमिका पूरा भएको मानिन्छ । विषेश गरी भाषा पठनपाठनमा गम्भीर भएर सोच्नुपर्ने र सुधार्नुपर्ने ठाउँ धेरै देखिन्छन् । एउटा निबन्ध पढ्दा निबन्धका बान्की, ढाँचा, उठान, बैठान (आदि, मध्य र अन्त्य) कसरी गर्ने भनेर अवधारणागत ज्ञान दिन कञ्जुस्यार्इँ गरिन्छ । त्यस्तै कथा पढ्दा पनि कथाका ढाँचा, शैली, कथानक सिलसिला, पात्रहरुका चरित्र चित्रण, कथाको आदि, मध्य र अन्त्य के कसरी गर्ने भन्ने बारेमा ज्ञान दिनुको सट्टा पुस्तकमा दिइएको कथामै सीमित भएर त्यसैलाई कष्ठस्थ गर्ने बेढङ्गे पारालाई बढावा दिइन्छ । कविताको शिक्षणशैली त दयालाग्दो अवस्थामा छ ।
हालै ‘लुनिभा बाल सरोकार समूह’ संस्थाले आयोजना गरेको बालसाहित्य लेखन अभिमुखीकरण कार्यक्रममा ललितपुरका १६ विद्यालयका कक्षा ८ र ९ का ३२ जना विद्यार्थीहरुसँग पङ्क्तिकारको साक्षात्कार भएको थियो । उनीहरुले गद्य र पद्य कविता भनेको के हो ? कसरी चिन्ने ? गद्य र पद्य कविताका भिन्नता, भाव, ढाँचा, गण, पद, पाउ, गति, यति, लय, विश्राम, सङ्केत, आदिको बारेमा सामान्य जानकारी पनि नभएको पाइयो । जबकि उनीहरुले एक कक्षादेखि नै कविता पढ्दै आएका छन् । अहिले त तीन कक्षादेखि शास्त्रीय छन्दका कविताहरु पनि पाठ्यपुस्तकमा समावेश गरिएको छ ।
नाटक, संवाद, प्रेरणादायी जीवनी, चिठीपत्रका बारेमा पनि शिक्षण विधि खासै भिन्नता छैन । कुरो नेपाली विषयको मात्र होइन, अङ्ग्रेजी विषयको पनि हालत उही छ । विद्यालयतह पार गर्दा समेत विद्यार्थीहरु सामान्य व्यहोराका निवेदन, निबन्ध, कथा, नाटक, कविताका बारेमा अनविज्ञ हुनु भनेको विद्यार्थीको दोष होइन । शिक्षक, पाठ्यपुस्तक र शिक्षणशैलीको तरिका नमिलेको यथार्थ स्वीकार्नुपर्छ ।
यहाँनिर एउटा गम्भीर कुरो के छ भने सबभन्दा पहिले शिक्षकहरुले सिक्ने र सिकाउने प्रक्रिया निरन्तर जारी राख्नुपर्छ भन्ने सच्चाइ बुझ्न सकिएको अवस्था छैन । एकपटक विश्वविद्यालयमा पढेको र उत्तीर्ण गरेको मापनलाई सधैँको लागि आफूलाई भरी गाग्रो ठानेर विद्यार्थी भनेका खाली गाग्रा हुन्, म मेरो ज्ञानलाई खन्याउन सक्षम छु भन्ने भ्रमको चुली सगरमाथाभन्दा अग्लो छ ।
अर्कोतिर विशेष गरी निजी विद्यालयहरुले अङ्ग्रेजी भाषाको माध्यमलाई ज्ञानको रुपमा चित्रित गरिएको छ । भाषा कहिल्यै पनि ज्ञान हुनै सक्तैन । यो त अभिव्यक्त गर्ने माध्यममात्रै हो । ज्ञानको लागि त भाषा होइन ज्ञानै सिक्नुपर्छ । कुन माध्यमबाट सिक्ने भन्ने कुरो आउँदामात्र भाषाको कुरो आउने हो । निजी विद्यालयहरुले भर्खर विद्यालय आएका साना बालबालिकाहरुलाई समेत अङ्ग्रेजी भाषा नबोलेको भनेर निलो कालो हुने गरी थर्काउछन् । सजाय दिन्छन् । यो कस्तो बहुलठ्ठीपन हो बुझ्न सकिएको छैन । भाषा सिकाइको चरण पूरा भएपछि बोल्ने अभ्यास गराउनु ठिकै होला तर सिकाउँदै नसिकाइ, बोल्ने सीप विकास नै नभई जबरजस्ती बोल्नुपर्छ भन्नु त गम्भीर प्रकारको बालअधिकार हनन् गर्नु हो । नेपाली भाषा प्रयोग गर्नु भनेको गबार हुनु हो भन्ने तामसी खालको हौवा पिटाइएको छ । हामी पनि साँच्चै हो कि त भन्ने भ्रममा छौँ । गहिरिएर हेर्ने हो भने यो कुरोमा त हाम्रो राष्ट्रियताको कुरो समेत गाँसिएको छ ! हाम्रो भाषा म¥यो, संस्कृति मेटियो र मौलिकता बिर्सियो भने के भनेर आफ्नोपनको गर्व गर्ने ?
एउटा भाषामा पक्कड छ भने अरु कुनै पनि भाषा सिक्न कुनै कठिनाई हुन्न । नेपाली भाषा सिक्नु, जान्नु र विज्ञ हुनु भनेको अङ्ग्रेजी वा अन्य भाषाको बेवास्ता गर्नु भन्ने होइन । अङ्ग्रेजी भाषाका विद्वानहरु नेपाली भाषाका प्रख्यात विज्ञ छन् र नेपाली भाषाका विद्वानहरु पनि अङ्ग्रेजी वा अन्य भाषाका प्रख्यात विज्ञ छन् । नेपाली भाषा जान्दा, बोल्दा र प्रयोग गर्दा हामी गबार हुन्छौँ भनेर मन खुम्च्याउनु पर्दैन । निर्धक्कसँग छाती चौडा पारेर मातृभूमिको सेवा गर्नु छ भने नेपाली भाषा र अन्य राष्ट्रिय भाषाहरुको विकास, प्रवद्र्धन र सम्वद्र्धनमा नै हाम्रो भविष्य उज्ज्वल छ ।
हामीले विद्यार्थीको सिकाइलाई आङ्कभारमा नाप्दै नम्बर त दियौँ तर ज्ञानचाहिँ कति दियौँ नि ? ज्ञानलाई अङ्कभारको नापोले सीमित गर्न सकिन्छ होला ? पाठ्यपुस्तकका लिखतलाई आधार मान्दै त्यसैको माध्यमबाट फराकिलो ज्ञान दिने शिक्षणशैली विकास गर्नुको विकल्प छैन । यसका लागि शिक्षकहरुले सिक्ने र सिर्जनशीलताको निरन्तर खोजी गर्ने संस्कारको थालनी गर्नुपर्छ ।
अबोध बालबालिकाहरु पुस्तकका लिखतभन्दा शिक्षकहरुका बोली, व्यवहार, लगाइ, हिडाइ, चलाइ, लेखाइ, गफ गराइ आदि पो बढी सिकिरहेका हुन्छन् । जुन कुरा हामी ख्यालै गर्दैनौँ । शिक्षकको दैनिक चरित्रबाट सिकेको ज्ञान नम्बरमा कसरी मापन गर्ने होला ? संवाद र वार्तालाप थालौँ न !

‘पत्थर पगाल्दै’ निबन्ध संग्रह- २०७० बाट