प्याङ्गाउँदेखि पतैयासम्म !

This News was posted on May 11, 19 11:27 pm

केही साथी किनमेलको सूची नै बोकेर जानुभएको रहेछ । नितान्त घुम्न गएका हामीजस्ता चाँही अलमलमा ! टोली एउटै भएपनि आआफ्ना उद्धेश्य त हुने नै भए । किनमेल, घुमफिर मसाजससाज आदिआदि उद्धेश्यसहित पुगेको रहेछ हाम्रो टोली । सबैले आआफ्नो उद्धेश्य पूरा गरे झैँ लाग्यो मलाई । यसरी मेरो यात्रा ललितपुरको ऐतिहासिक र परम्परागत समाज रहेको प्याङ्गाउँबाट उग्र आधुनिकता झल्कने पतैयासम्मको एक साताको यात्रा सकियो ।

रमेशप्रसाद तिमल्सिना
यात्रा संस्मरण

मेरो यो दोस्रो विदेश भ्रमण ! यसअघि बङ्गलादेश पुगेको थिएँ । खासा र रक्सौलजस्ता नेपालका सिमाना छाडेर पासपोर्टमा भिसा लगाएर विदेश गएको दोस्रो । सार्क राष्ट्रमै पर्ने बङ्गलादेश पुग्दा नेपालकै तराई पुगेजस्तो भएको थियो । तर, त्यो भन्दा पर पुग्दा अनुभव पनि अलग्गै हुने अपेक्षा थियो । एउटै कार्यालयमा काम गर्ने साथीहरूको जमातमै मिसिएर जाँदा छुट्टै महसुस् । मेरो मनमा धेरै कुराहरू खेलिरहेको थियो । कस्तो होला थाइल्याण्ड ? नेपालबाट ११ जनाको टोली थाइल्याण्ड जाँदै थियो । केही साथीहरूले रातारात (थप चार्ज तिरेर) पासपोर्ट बनाएका थिए । उनीहरूको मन त झन् चङ्गा झैँ जानु अगाडी नै थाइल्याण्डका लागि उडेको थियो । भिसा लगाउने टिकेट लिने जस्ता कामहरू सम्पन्न गरिसकेपछि हामी डलरको जोरजाममा लाग्यौँ । पर्यटक भिसामा घुम्न जान लागेका हामीलाई कम्तीमा १ हजार डलर साटेको प्रमाण मागिँदोरहेछ । चिया पसलहरूमा जति नै ठूला कुरा गरेपनि नियम कानुन त मान्नै पर्‍यो । हामी सबैले मान्यौँ पनि । हुन त यो टोलीमा भएका हामी सबै नियम कानुनभन्दा परको समाज सोच्न नसक्ने खालका छौँ । अरूलाई पनि नियम मान्नुपर्छ भनेर पैरवी चलाउनेहरूको जमात भएकाले नियमबाहेकको परिकल्पना हामीसँग थिएन र छैन पनि ।


२०७५ चैत २२ गते अप्रिलको पाँचौँ दिन । हामी १२ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्यौँ ३ बजेको उडानका लागि । विमानस्थलको पर्खाइमा पनि हामीले थुप्रै कुरा गर्‍यौं । भ्रमणकेन्द्रीत र अन्य ‘जोक्सहरू’ । हामी आकाशिँदा ५ बजेको थियो । काठमाडौँदेखि काठमाडौँसम्म मेरो यात्रामा अन्य १० जना चिरपरिचित र मिलनसार साथीहरू थिए । बिचबिचमा देशीविदेशी अन्य साथीहरू जोडिँदै र छुटिँदै गए । जुन स्वभाविक प्रक्रिया हो । जाँदादेखि फर्कनेबेलासम्म हाम्रो टोली त सँगै नै थियो । सँगसँगै चाँहि भार्गव काफ्ले हुनुहुन्थ्यो । जाँदाआउँदै प्लेनको एकै सिटमा । उता बस्दा होटलमा पनि हामी रूपा (रूम पार्टनर) ।


काठमाडौँको विमानस्थलमा छँदासम्म स्वदेशी हावा । साढे तीन घण्टाको यात्रापछि विदेशी तातो हावा । प्लेनबाट झर्ने बित्तिकै ‘टुरिष्ट’ ! बैङ्ककमा अवतरण हुनुअघि छेवैमा रहेका भार्गवले भन्नुभयो ल हेर्नुस् कत्रो शहर ? जताततै झिलिमिली ! साँच्चै आँखा नै तिरमिराउने खालको थियो । मैले तत्काल जबाफ फर्काइहालेँ–‘हामीलाई स्वागत गर्न दिप प्रज्ज्वलन गरेका !’ यस्तैयस्तै गफ गर्दागर्दै हाम्रो ‘थाइ’ पनि ‘अस्थायी (३–४ दिनका लागि)ल्याण्ड’ भयो थाइल्याण्डमा !


विमानस्थलमा एउटा हाइस हामीलाई लिन तम्तयार भएर बसेको रहेछ । त्यहाँबाट उसले हामीलाई हुँइक्यायो पतैयाका लागि । हामी गफगाफमा नै थियौँ । उ हाम्रो कुरा बुझ्दैनथ्यो हामी उसको कुरा ! उ कानमा एयरफोन कोचेर थाइ गीत सुन्दै गाडी गुडाउन थाल्यो हामी गफगाफमा । भोक लागेकाले कतै रोक्नका लागि आग्रह गर्नु थियो । अगाडी सिटमा म थिएँ । मैले नै आग्रह गर्नुपर्‍यो । उसले सडक आसपासमा नै सेभेन इलाभेन नाम गरेको पसलमा रोकिदियो । जुन हाम्रो रोजाई थियो । त्यहाँ सस्तोमा आवश्यक धेरै चिज पाइन्छ भन्ने मैले सुनेको थिएँ । यसअघि जानेहरूले भोगेका थिए । खाना त खाइयो तर गन्हाउने ! हामी नेपाली खान्की र बान्कीका मानिसलाई न उताको खान्की रूचिकर न बान्की नै ! हुन त नेपाली उता जाने धेरै कारण नै नहुँदो रहेछ । त्यताको ‘बान्की’ मुख्य कारण रहेछ । २ जति बजेको हुँदो हो हामी पतैया पुग्दा । सेभेन इलाभेनमा हामीले खाना खाएका थियौँ । उता पुगेपछि शिव खकुरेलले त नेपाली बिर्सनु हुन्छ कि भन्ने डर ! हामीसँग पनि अङ्ग्रेजी मात्रै बोल्ने । सुत्नका लागि पनि अङ्ग्रेजीमा नै आग्रह गर्नुभयो । यो आग्रह अन्तै हो कि भनेर यसो यताउता हेरेको त वहाँ र म मात्रै पो रहेछौँ त ! पतैया पुगेपछि सुत्ने तरखरमा लाग्यौँ । केही साथीहरू बिहानीको रातको पतैया र समुन्द्र किनारतिर लागेछन् । भोलिपल्ट मात्रै थाहा भयो केही साथी त्यतिबेलै त्यताको खान्की र बान्की तिर अल्मलिएछन् । समुन्द्रको किनारमा पुगेका साथीहरू ‘जलपान’ र ‘नेत्रपान’ गरेर फर्किएछन् ।


पतैया समुन्द्रको किनारमा छ । यहाँबाट हामी कोरल आइल्याण्ड जाने कार्यक्रम थियो । उतैतिर लाग्यौँ । घरिघरि हामी झुकिन्थ्यौँ कि हामी थाइल्याण्डमा छौँ कि इण्डियामा ! कारण के हो भने जताततै इण्डियनहरू । सामान बेच्न पनि उनीहरू नै आइपुग्छन् अन्यत्र पनि उनीहरूकै दौडधुप देखिन्छ । समुन्द्रको केही पर हामी प्याराग्लाइडिङका लागि रोकियौँ । पाखा भित्तामा हुर्किएको म प्राय उफ्रन, फड्कन र उकालो ओरालो हिँड्न रुचाउँछु । फेसबुकमा त्यस्तै फोटो पोष्ट गर्दै आएकाले साथीहरूले नउड्लास् भनेर सफ्ट धम्की नै दिएका थिए । ५ सय भाटमा त्यो प्याकेज किनेँ र आकाशिएँ । हाम्रो टोलीका दुई जना बाहेक सबै उडे । ३–५ मिनेटमा ५ सय भाट स्वाहा ! तर, नयाँ अनुभव बटुलेकोमा साथीहरू बेखुस हुनुहुन्नथ्यो । उडानका क्रममा म दुर्घटनामा परेँ । दुवै गोडामा चोट लाग्यो । तरपनि उडेँ । त्यसपछि केही पर समुन्द्रको पिँधमा जाने अर्को ‘फण्डा’ रहेछ । साथीहरू टाउकामा बडेमानका ‘अक्सिजन क्याप’ (नाम के हो थाहा छैन अक्सिजनका लागि टाउकामा लगाइएकाले अक्सिजन क्याप भनेको हुँ ।) लगाएर पिँधतिर लागे । म चाँहि हल्का घाइते भएकाले त्यो रमाइलोमा सामेल हुन सकिनँ । त्यो रमाइलोमा हाम्रो टोलीका म, दुर्गा थापा, शिव खकुरेल र दिल्लीवाली गएनौँ । त्यसपछि कोरल आइल्याण्ड पुगियो । सेतासेता तिघ्रा देखाएका तिघ्रे नै तिघ्रे फेला परे । नाङ्गाका देशमा जाँदा नाङ्गै हुनु भन्ने उखान सम्झेँ । म पनि ‘अर्धनङ्गा’ बनेँ । साथीहरू पनि उस्तै । को कताको को के उद्धेश्यले आएको पत्तै नहुने जस्तो भइयो । साथी पत्ता लगाउन अनुहार नहेरी थाहा नहुने परिस्थिति निर्माण भयो । सबै थाइ देखाएर आआफ्ना धुनमा । त्यस्तै थाइ ल्याण्ड गर्नेहरूको सङ्ख्या उल्लेख्य भएर देशको नाम नै थाइल्याण्ड पो राखेको हो कि हामीले एक आपसमा छलफल ग¥यौँ । जुन छलफल समय कटाउने खालको मात्रै थियो । तर होकी जस्तो पनि लाग्ने । त्यहाँ बनाना बोटिङ पछि केही बेर यतायता टहलपहल गरियो । बनना बोटबाट लड्दा त सात्तै गयो भन्नुहुन्थ्यो गणेश भण्डारी ।


त्यसपछि फेरि पतैया आइयो । पतैया फर्कने बेलामा नारायण सुबेदी ‘बेपत्ता’ ! न फोन छ । न चिनेजानेका मान्छे । पर्‍यो फसाद ! पढेलेखेको मान्छे सोधखोज गर्दै र सहयोग माग्दै आउनुहुन्छ नआत्तिउँ भनेर के भनेको थिएँ । सुर्खेती मगर दुर्गा थापा रिसले चुर ! वहाँ पनि ओर्लन खोज्नुभयो । बलतल वहाँलाई सम्हालियो । अर्कै बोटमा चढेर सुबेदीजी पहिल्यै पतया । आइल्याण्ड पुगेर फर्कने क्रममा आफूसँग भएको चिज बेच्न सके आर्थिक अभाव हुँदैन भन्ने यहाँको सरकार र नागरिकले प्रमाणित गरेको देखियो । बोल्नेको नुन पनि बिक्छ नबोल्नेको सुन पनि बिक्दैन भनेको हो रहेछ ।


५ लाख १३ हजार १ सय २० वर्ग किमी क्षेत्रफल भएको थाइल्याण्डको जनसङ्ख्या ६ करोड ९२ लाख ८७ हजार ५ सय २८ छ । थाइल्याण्डमा वर्षभरिनै उस्तै हावापानी हुँदोरहेछ । २३ देखि ३६ डिग्रीसम्म तापक्रम हुन्छ । यो उष्णभूमिमा यौन केवल व्यवसाय बनेको छ । पर्यटनको मुख्य आकर्षण बनेको छ । यसलाई यौन पर्यटन भनेपनि हुन्छ । नेपाली समाजले लुकाउने तर बेलाबेलामा विष्फोट हुने यौन कुण्ठा थाइ समाजमा छैन कि भैmँ लाग्यो । तर, त्यहाँ पनि बलात्कार जस्ता जघन्य अपराध हुने गुगलमा सर्च गर्दा पाइयो । थाइल्याण्डमा यौन हिंसा गर्‍यो भनेचाहिँ १५ वर्ष कैददेखि बलात्कारीलाई मृत्यु दण्डसम्मको व्यवस्था रहेछ । यौन पर्यटनबाट पैसा कमाउने बानी परेका थाई महिलाहरू अहिले धेरै समय लगाएर कम पैसा आउने काम गर्न सितिमिति रूचाउँदैनन् । मसाज गर्नेदेखि छोटो समयमा धेरै कमाउने यौन पेशा उनीहरूको मुख्य रोजाई हो । थाइल्याण्डका बाटो–बाटोमा पर्चा थमाएर ‘मसाज सर मसाज, मसाज म्याम मसाज’ भन्छन् । जुन पतयादेखि बैङ्ककसम्म नै पाइयो ।


यौन पेशामा लाग्न चाहने महिला वा पुरूष कसैलाई पनि यहाँ राज्यले रोकेको छैन । यौनकर्मीसँग ‘लाइसेन्स’ हुन्छ वा के हो थाहा भएन । तर, क्लबहरूमा यौन व्यवसायको प्रमाणपत्र चाँहि नहुँदोरहेछ । पुरूष दर्शक रहेर महिलाको क्लब चलेजस्तै महिलाका लागि पनि ह्याडसम क्लबहरू पनि यहाँ प्रशस्तै हुने रहेछन् । पुरूष दर्शक हुने क्लबहरूमा महिलाका यौन चर्तिकला र महिला दर्शक हुने क्लबमा पुरूषहरूले यौनसम्बन्धी चर्तिकला देखाउँदा रहेछन् । थाइल्याण्ड यसरी यौनको मामिलामा उदार रहनुका पनि केही कारण छन् । दोस्रो विश्वयुद्धको समयमा छिमेकी देश भियतनामबाट भागेर आएका अङ्ग्रेज सेना र अन्य साधारण अङ्ग्रेज तथा युरोपियनहरू लामो समयसम्म यहीँ बसे । उनीहरू हरेकले यहाँ बस्दा एकएक जना गरिब थाई महिलाको साथ लागेर बसे । उनीहरूले आफ्नो जीवन पनि यहीँ फाले । अनि उनीहरूले आफ्नो सम्पत्ति पनि तिनै महिलालाई छाडेर गए । यसरी पर्यटक आएर थाई महिला रोजेर बस्ने परम्परा आजसम्म पनि कायमै रहेको पाइन्छ । यही चलनको प्रभाव बढ्दै यौन पर्यटनले ठाउँ पाएको बुझ्न सकिन्छ ।


यहाँ साग बेचेजस्तै त्यहाँ आवधिक मसाजससाज गर्न मोलमोलाई हुने रहेछ । कुरो मिलेपछि काम खत्तम ! समय र पैसाको सीमा तय भइसकेपछि थप छलफल हुँदैन । (भाषा बुझे पो हुनु) पतिपत्नी जोडी नै (कसैकसैले त सन्तान पनि) सँगै आएर मोलमोलाई गर्ने र कुरा मिलेपछि एक जना भित्र पति वा पत्नी होटल बाहिर कुरेर बस्ने गरेको पनि पाइयो । ‘काम’ सकिएपछि दुवै जना अर्को ठाउँमा आफ्नै ‘व्यापार’का लागि जाने रहेछन् । उनीहरूको दैनिकी यसरी नै चलेको छ । कार लिएर ‘काम’ खोज्न आउने र ‘काम’ सकिएपछि कारैमा फिर्ने ! ट्याग भिरेर लाइन बसेका यौनकर्मीलाई अनुभवी ग्राहकले रोज्ने रहेछन् । थाहा नभएकालाई त केको ट्याग भन्ने कुरा पत्ता लगाउँदैमा एक रात बित्ने क्या ! दिनभर सँगै रहेका साथीहरू रात्रीकालीन बजार हेर्ने बेलामा को कता ? को कता ? पत्तै लागेन । कोही रसिएन सो कोही के हो के हो ? मा लाग्ने ! जे होस् अबेर राति भएपनि सबैजना होटलमै जमघट !


अँ ! साँच्ची पतैयामा हामीसँग घुम्ने टोलीमा दुई जना इण्डिएन चेली पनि थिए । राम्रा अनि असल ! उनीहरूपनि घुम्न आएका रहेछन् नयाँदिल्लीबाट । भरपुर मनोरञ्जन लिन पाएकोमा उनीहरू दङ्ग थिए । गाडीमा मसँगको सिटमा बसेका उनीहरूले मनमस्ती भएको बताएका थिए । मसँग हिँड्दै मात्र त मनोरञ्जन लिन्छन् धेरैले त्यसमाथि गफिँदै पतैयामा हिँड्दा के नलिउन् ? नेपाली कमेडिएन किङ मनोज गजुरेलसँग लामै सङ्गत पो छ त ! बेलाबेलामा वहाँले पनि मसँग नै खुराक लिनुहुन्छ नि ! सिङ्गो एक दिन र आधा रात जति पतैयामा बिताएपछि भोलिपल्ट बिहान बैङ्कका लागि गाडी गुड्यो । ३५ वर्ष गाडी चलाएका अनुभवी ‘बाजे’ परे यो यात्रामा । हल्काफुल्का गफ पनि गर्ने । नेपाली गीत सुन्ने भए मोवाइलमा घुसार्न तार पनि दिए जुन तारको सम्बन्ध गाडीमा जोडिएका स्पिकरसँग छ । अनि घन्काइयो नेपाली लोकगीत ! हामी खुसी भएको देख्दा चालक बाजे पनि मख्ख !


उनले हामीलाई फ्लोटिङ मार्केटमा ल्याएर छाडे । पानीमाथिको बजार भएकाले फ्लोटिङ मार्केट नाम राखिएको रहेछ । स्वाद र सन्तुष्टि आआफ्नै भने झैँ थाइ फुडमा लीन हुनुभएको थियो शर्भेसराज शर्मा । मैले त थाइ फुड खान सकिनँ । अरु धेरैले खानु भएन । हामीले खाना पनि इण्डियन र नेपाली मात्रै खायौँ पहिलो दिन बाहेक । नेपाल र भारतको समानता खानातिर पो भेटिँदोरहेछ । भारतसँगको रोटीको सम्बन्ध स्वाद लिनेलाई मात्र थाहा हुन्छ । खानपान र नेत्रपान अनि जलपान सबैका आआफ्नै स्वाद हुन्छन् । त्यसै अनुसार मनोरञ्जन गरियो । त्यसअघि नै हामी ‘द मिलियन इयर्स स्टोन पार्क एण्ड पतैया क्रोकोडाइल फार्म’ मा घुमघाम गरेर फर्केका थियौँ । आम्मामा ! ढुङ्गाका आकार र साइज । के हो के हो ? हामीलाई ढुङ्गा देखाएर पैसा असुले । दिलखुस बनाएर प्रतिव्यक्ति ५ सय भाट अर्पण गरियो । गोही त्यस्तै । आएर सलक्कै निल्लान जस्तो ! गोहीसँग खेल्नेहरू बेलाबेलामा उनीहरूको मुखमा टाउको नै राखिदिने रहेछन् । घरिघरि त डरको फ्युज नै कन्फ्युज हुने ।


पतैयामा नै रहेको मार्केट घुमघामपछि हामी लाग्यौँ बैङ्ककतिर । गाडी चालकसँगै बसेकाले थाहा भयो कि कुन बाटोमा के छ ? कताबाट हामी पुग्ने होटेलमा जान सजिलो मोबाइलमा नक्सासहित सूचना आइरहँदोरहेछ । एप नै बनाएको रहेछ । बेलाबेलामा बोलेरै जानकारी दिने । कहाँदेखि कहाँसम्म पुग्ने पहिले सेट गरेपछि उसैले डोहोर्‍याएर पुर्‍याउने रहेछ । नत्र त बर्खामा गुडुल्किएका गड्यौलाजस्तो बाटोमा पत्ता लगाउने कठिन । तीन चार तलाका सडक । सहजै पत्ता लगाउनै सास्ती ! एक मोड मात्रै चिप्लिएपछि अर्कै तलाको बाटोमा पुगिने । कताको यात्रा कता पुगिने टुङ्गो नै छैन । कर्णालीका जीवन सेजुवालका लागि यो त झनै ठूलो संस्मरण पो बन्छ त ! हामी गोल्डेन बुद्धको मन्दिरमा घुमघाम गरेपछि बैङ्कस्थित हामी बस्ने होटेलमा पुग्यौँ । साँझको बैङ्ककमा पनि नजर लगाइयो । धेरै कुरा हेरियो । देखियो । नहेरौँभन्दा पनि फ्याट्टै देखिने क्या ! कति त भोगियो पनि ।


पसलदेखि होटलसम्म बर्मेली नेपालीले नै काम गर्दा रहेछन् । बर्मेली युवाको मुख्य रोजगार गन्तव्य थाइल्याण्ड रहेछ । खुसुक्क आउने । भिसा लगाएर होइन । स्थलमार्गबाट पनि होइन । जलमार्गबाट खुसुक्क ! उनीहरूलाई नेपाली भन्दा खिस्स हास्ने र बर्मेलीभन्दा हल्का चित्त देखाउने रहेछन् । नेपालीले भेट्दा नेपाली नै भनुन् भनेर उनीहरूको अन्तस्करणले भन्दो हो । आफ्नो मातृभूमि नेपाल नभएपनि पूर्खाहरूको भूमिको प्यार त पक्कै लाग्दो हो नि ! बजारमा बरालिने नेपालीलाई नेपालीमा नै कुरा गरी महङ्गोमा सामान बेच्न खप्पिस रहेछन् बर्मेली ! केही नलागे खिस्स हास्ने, जीउतिर सुम्सुम्याउने । तर, नेपाली ग्राहक हत्तपत्त नफुत्काउने । अरुलाई के गर्छन् थाहा भएन नेपालीलाई चाँही जुको टाँसिए झैँ टाँसिएरै भएपनि सामान बेच्ने । नेपालकै केही जानेबुझेकाहरूले ‘हाकिम’लाई ‘आफ्नो’ बनाउन र अरूसँगको सम्बन्ध टुटाउन यस्ते हर्कत गर्ने गरेको साथीसङ्गतिबाट थाहा पाइएको थियो । चाकडी र चाप्लुसी गर्नेहरूले विभिन्न कुरा लगाएर ‘एक गरियो तेल’ नै लगाएर भएपनि हाकिमलाई ‘अन्धो’ बनाएर अरूसँगको सम्बन्ध स्वाहा बनाएर पछि कार्यक्रमहरू नै स्वाहा पारिएका उदाहरण प्रशस्तै छन् । त्यसैले चाकडी र चाप्लुसीबाजहरूलाई टाढा राख्न नसक्नेले न आफ्नो हित गर्न सक्छ न सहकर्मीहरूकै भनिएको होला । उतै गएर आएकाले अपनाउने उपाए रहेछ क्यारे ! थाइ नागरिकसँग भने एस ह्याभ र नो ह्याभबाटै किनमेल टुङ्गिने हुँदा सजिलो हुने भन्दै हुनुहुन्थ्यो कृष्ण गौतम ।


बैङ्ककमा आएपछि हामी केही सपिङ मलतिर पुग्यौँ । त्यही सामान मलमा महङ्गो । बाहिर सस्तो । सस्ते माल सरस्तेमे भने झैँ सडकमा चाँहि अलिक सस्तो । त्यहाँको लोकल बस र रेल चढ्ने योजना पूरा गर्न कृष्ण गौतमकी भाञ्जी (हाम्री पनि भाञ्जिी) अञ्जली आचार्यले मद्दत गर्नु भयो । भाञ्जी उतै आइटी पढ्दै हुनुहुँदो रहेछ । वहाँले छात्रवृत्ति पाउनु भएको रहेछ । तर, डेरा लिएरै बस्नेहरूका लागि बढीमा ३० हजारमा महिना गुजार्न सकिने बताउँदैहुनुहुन्थ्यो भाञ्जी । केही साथी किनमेलको सूची नै बोकेर जानुभएको रहेछ । नितान्त घुम्न गएका हामीजस्ता चाँही अलमलमा ! टोली एउटै भएपनि आआफ्ना उद्धेश्य त हुने नै भए । किनमेल, घुमफिर मसाजससाज आदिआदि उद्धेश्यसहित पुगेको रहेछ हाम्रो टोली । सबैले आआफ्नो उद्धेश्य पूरा गरे झैँ लाग्यो मलाई । यसरी मेरो यात्रा ललितपुरको ऐतिहासिक र परम्परागत समाज रहेको प्याङ्गाउँबाट उग्र आधुनिकता झल्कने पतैयासम्मको एक साताको यात्रा सकियो ।