बायोकम्प प्राङ्गारिक मलको वजार ४५ जिल्लामा

This News was posted on May 8, 18 11:04 am

काठमाडौं। बायोकम्प नेपालले नेदरल्यान्डको प्रविधिबाट उत्पादन गर्दै आएको प्रांगारिक मलको बजार देशका ४५ भन्दा बढी जिल्लामा विस्तार गरेको छ । ललितपुरको खोकनामा उत्पादनस्थल भएको बायोकम्पले प्रांगारिक फोहोरलाई कम्पोस्टमा परिवर्तन गरेर मिथेन ग्यासको उत्सर्जनलाई घटाउने उद्देश्यका साथ सन २०११ देखि उत्पादन सुरु गरेको कम्पनीका बजार व्यवस्थापन संयोजक सरोज महतोले बताए ।

महतोका अनुसार हाल कम्पनीले मासिक करिब १२ लाख रकम बराबरको करिब ५० टन प्रांगारिक मल बजारमा पठाइरहेको छ । करिब ६० जनाभन्दा बढीलाई रोजगारी दिएको बायोकम्प नेपालले २२ रोपनी जग्गा भाडामा लिएर उत्पादन गरिरहेको छ । ३ करोडको लगानीमा खोलिएको उक्त कारखानामा जर्मनको फोहोर व्यवस्थापनमा ख्यातिप्राप्त संस्था एचभिसीको समेत संलग्नता रहेको छ ।

नेदरल्यान्ड र नेपालका केही युवा मिलेर सुरु गरेको उक्त कम्पनीको लगानी हाल करिब दश करोडभन्दा माथि पुगेको महतोले बताए । उनले भने ‘रासायनिक मलको प्रयोगका कारण नेपाली माटोको उर्वराशक्ति कम हुँदै गइरहेकोले बायोकम्पजस्तो जैविक मलप्रति किसानको आर्कषण बढेको छ । यसलाई ध्यानमा राखेर हामीले डिलर तथा उत्पादनलाई बढाइरहेका छौँ ।’ तरकारी बजारहरूबाट खेर गइरहेको तरकारीहरू तथा घाँसजन्य कच्चा पदार्थलाई नेदरल्यान्डको उच्च प्रविधि प्रयोग गरेर उच्च गुण्स्तरको जैविक मलको रूपमा उत्पादन गरिरहेको कम्पनीसँग हाल ४ ओटा प्रसोधन मेसिन र एउटा प्याकिङ मेसिन रहेका छन् ।

नेदरल्यान्डका विज्ञहरू नेपालमा बसेर प्रांगारिक मल उत्पादनमा सक्रिय देखिएका छन् । रासायनिक मल तथा विषादीका कारण देखिएको समस्यालाई समाधान गर्ने एक मात्र विकल्पमा रूपमा नेपाली कृषिमा प्रांगारिक मल, प्रांगारिक विषादी नै रहेकाले एकचोटि प्रयोग गरेको किसानले यस्तो खालको जैविक मल सँधै प्रयोग गर्ने गरेको कम्पनीले बताएको छ ।

रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्ति बिगिँदै आएकोले उत्पादत्व पनि नास हुँदै गएकोले प्रांगारिक उत्पादनको माग बढिरहेकै वेला किसानहरूलाई गुणस्तरीय कम्पोस्ट मलको अभाव हुन नदिन बायोकम्प कम्पोस्ट मलले सस्तोमै मल उपलब्ध गराउँदै आएको बायोकम्प नेपालका प्रबन्ध निर्देशक डच नागरिक मार्टिन निरेपले बताए । उनले भने ‘युरोपमा सबैभन्दा बढी र गुणस्तरीय कम्पोस्ट मल उत्पादन भइरहेको नेदरल्यान्ड प्रविधिबाट नेपालमा कम्पोस्ट मल उत्पादन यो पहिलो हो ।’ साथै, उक्त मल उत्पादन नेपालको भौगोलिक अवस्था, माटोको अवस्था र वातावरणलाई समेत मध्यनजर गरी उत्पादन गरिएको उनले बताए ।