भीषण वर्षा र पहिरोले दक्षिण ललितपूर उच्च जोखिममा

This News was posted on July 24, 18 2:21 pm

सन्तोष दाहाल, ललितपूर । केही दिनदेखि परिरहेको निरन्तरको भीषण वर्षाले दक्षिण ललितपूरमा सन्त्रासको वातावरण सिर्जना भएको छ । विशेष गरी सडक निर्माण र विस्तार गर्ने क्रममा रहेका स्थानहरुमा आएको पहिरोले गर्दा थुप्रै चौपाया तथा धनमालको क्षति भएको बुझिएको छ।

बागमती गाउँपालिका ३ भट्टेडाँडाका थुप्रै घर तथा पाखाबारीहरु जोखिमपूर्ण अवस्थामा रहेको स्थानीय विनोद बजगाईंले जानकारी दिएका छन् । स्थानीय नारायण बोम्जनको घर उच्च जोखिममा रहेको र अन्य केही घरहरु पनि पहिरोले तान्नका लागि केही मिटर मात्र बाँकी रहेकोले उक्त स्थानका मानिस तथा चौपायाहरुलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिसकिएको र सम्भव भएसम्म सबै सुरक्षित रहने कोसिस गरेको पनि उनले बताए । ३ दिनदेखि परेको वर्षाले महांकाल देवी उच्च मावि नजिकैको खोलामा पर्ने पूल पनि बगाएको छ भने फाल्न थालेको मकैमा पनि हुरीबतासले क्षति पुर्याएको छ ।

 

यस्तै बागमती ५, इकुड़ोलमा पनि भर्खरै निर्माण गरेको नयाँ मोटरबाटोबाट पहिरो खसेर स्थानीय थर्वानन्द घिमिरेको गोठ बगाउँदा एक हल गोरु बेपत्ता भएका छन् । यसका साथै सँगै रहेको घर पनि पूर्ण जोखिममा रहेका कारण मानिस तथा अन्य चौपायालाई सुरक्षित स्थानमा सारिएको र घटनाबाट आफ्नो दुई लाख बराबरको धनमाल क्षति भएको थर्वानन्दले मानव आवाजलाई जानकारी दिए ।

यसका साथै कान्ति लोकपथमा सडक विस्तार गर्ने काम भईरहेको हुँदा सडक माथिबाट पहिरो खस्ने क्रम बढेपछी लोकपथ पूर्णरूपमा अबरुद्ध भएको छ । महांकाल र कोन्ज्योसोम गाउँपालिकाका क्षेत्रहरुमा पनि वर्षाको कारण थुप्रै घर तथा पाखाबारीहरु जोखिममा रहेको र पहिरो खस्ने क्रम बढ्दै गएकोले सबैलाई सुरक्षित र सतर्क रहन स्थानीय प्रशासनले सतर्क गराएका छन् ।