मन्थलीमा खोलाले विद्यार्थी बगाउँदा १ बेपत्ता ,३ घाइते

This News was posted on May 14, 18 11:09 am

 

रामेछाप । रामेछापको मन्थलीमा खोलाले बगाउँदा १ जना बेपत्ता भएका छन भने ३ जना घाइते भएका छन । रामेछाप जिल्लाको सरमुकाम मन्थली हुँदै बग्ने रणजोर र तामाकोशि खोलाको दोभानको भेलले कक्षा ११ को परीक्षा दिन हिँडेका १६ जना विद्यार्थिलाई बगाएको हो ।

मन्थली उच्च माविका १६ जना विद्यार्थि परीक्षा दिन मन्थली नगरपालिका ७ भटौलिमा रहेको श्री रुद्राक्षेश्वर मावि जाने क्रममा बिहान उनीहरुलाई बगाएको जिल्ला प्रहरी कार्यलय रामेछापले जानकारी दिएको छ । परीक्षा दिन हिँडेका १६ जना मध्ये १२ जनालाई सकुशल उद्धार गरिएको छ । ३ जनालाई भने घाइते अवस्थामा उद्धार गरिएको छ । १ जना विद्यार्थी भने अझै पनि बेपत्ता छन । मन्थली नगरपालिका वडा नम्बर १ आकाशेकी १७ वर्षीय उष्मा फुँयाल बेपत्ता रहेको र उनको खोजिकार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय रामेछापका प्रहरी नायब उपरीक्षक राजेन्द्र थापाले जानकारी दिएका छन् ।

मनिषा पाण्डे,जानुका बुढाथोकी र निशा शाहको भने मन्थली सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए। वर्षाले रणजोर खोला र मन्थली आसपासका खहरेहरुमा बाढी आएको थियो । अव्यवस्थित तरीकाले खनिएका सडकबाट माटो र गेगर बगाएर मन्थली बसपार्क, भैश्वेवर चोक, ट्राफिक चोक र आकाशे एरियाका घरहरुमा पानीले बगाएर ल्याएको गेगर र हिलो पसेर अस्तव्यस्त भएको छ । बाढीले सबैभन्दा बढी असर मन्थली बसपार्क क्षेत्रमा पुगेको छ ।

बसपार्क र यत्रतत्र पार्किङ गरि राखेका बस, मालवाहक गाडी र मोटरसाइकलमा समेत क्षति पुगेको छ । यसैगरी देवकोटा चोकबाट बसपार्कको बीचमा पर्ने जिल्ला आयुर्देद स्वास्थ्य केन्द्र र मन्थली गेटबीचका खहरे खोला र खोल्साका नजिकैको सडक समेतमा क्षति पुगेको छ । गेगरले पुरेकामध्ये सबैभन्दा चल्तीको भैश्वेश्वर चोकमा जम्मा भएको गेगरलाई स्काइभेटर लगाएर हटाइएको छ । बाढी प्रभावित बसपार्क क्षेत्रमा पुरिएका गेगर र हिलो समेत पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी दिएका छन् ।

वर्षाका कारण मन्थलीदेखि काठमाण्डौंतर्फ जाने र मन्थलीबाट दोलखा तथा मन्थलीबाट ग्रामिण क्षेत्रतर्फ जाने धेरै सडक समेत अवरुद्ध भएका छन् । बाढीले पुष्पलाल राजमार्ग अन्तर्गत मन्थलीबाट करिव १३ किलोमिटर टाढाको सेलेघाट बजार क्षेत्रको सडक समेत अवरुद्ध हुँदा काठमाडौं ओहोरदोहोर गर्ने गाडी चल्न सकेका छैनन् । सडक खुलाउने काम भैरहेको मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले जानकारी दिए ।

बाढीका कारण भूकम्प पीडिढत पूर्णरुपमा प्रभावित भएका छन् । निर्माणाधीन घरका लागि तयारी अवस्थामा राखिएको गिट्टी, ढुङा, वालुवा र ईट्टा समेत पुरिएको र बगाएको छ । पीडित बस्दै आएका अस्थायी टहरामा समेत पानी पसेको छ । अहिले वर्षा रोकिएको भए पनि मौसम बदली भएका कारण जुनसुकै बेला पनि पानी पर्ने सम्भावना बढेपछि प्रभावितहरु चिन्तित छन् ।