महायज्ञको तयारी पुरा, मन्त्री लालबाबु पण्डितले उद्घाटन गर्ने

This News was posted on July 22, 18 5:15 am

सन्तोष दहाल,ललितपूर । ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र र धर्मशाला निर्माणको लागि गोदावरी नगरपालिका १३, झरुवारासीमा सोमबारदेखि आयोजना हुन लागेको १०८ वृहत श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको सम्पूर्ण तयारी पुरा भएको छ । सोमबार बिहान ७ बजे तासिन्चोक (पोखरीटार) बाट सुरु हुने कलशयात्रा गोदावरी पुगी पवित्र जल लिएर टौखेल हुँदै बज्रबाराही पुगी तासिन्चोकमै आई अन्त्य हुने आयोजकले मानव आवाजलाई जानकारी दिएको छ ।

कलाशयात्राको अन्त्यपश्चात नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले दिनको १;०० बजे महायज्ञ उद्घाटन गर्नेछन । देशव्यापी १०८ श्रीमदभागवत सत्संकल्प अभियानकर्ता मुमुक्षु श्री उद्धव शर्माको संकल्पमा आयोजना हुन लागेको यस महायज्ञमा कथा व्यास नारीरत्न विदुषी सुश्री अनुराधा शास्त्रीले कथावाचन गर्नेछिन् ।

महायज्ञभर हरेक दिन यज्ञ परिसरमा झाँकी लीला प्रदर्शन गरिनेछ भने बिहान ७: १५ बजे पुजा,९:१५ देखि पाठपारायण तथा १०: ४५ देखि अपराह्न ४: १५ बजेसम्म कथावाचनको समय निर्धारण गरिएको छ । प्रत्येक बेलुका ७: ४५ बजे महात्म्य संचालन हुनेछ । त्यस्तै साउन १४ गते लक्ष्यदीप प्रज्वलन, १०८ शालीग्राम पूजाअर्चना परिक्रमा र प्रत्येक सोमवार गोदावरी सन्तानेश्वर बोलबोम यात्रा समेत गरिने युवा नेता तथा समाजसेवी प्रभाकर थापाले जानकारी दिएका छ्न । यज्ञ तथा आसनस्थल  निर्माण तयारीको काम सकिएको र आइतबार साँझ र्यालीको आयोजना गरिएको पनि उनले बताए ।

श्रावण महिनाको पवित्र महिनालाई लक्षित गरी महायज्ञ आयोजना गरिएको र यसमा अत्याधिक मात्रामा भक्तजनहरु उपस्थित भई ज्ञान प्रात गर्ने र दानपुण्य प्राप्त गर्ने कुरामा आफू विश्वस्त रहेको युवा सूचना केन्द्र झरुवारासिका अध्यक्ष सुवास घिमिरेले बताए । आयोजक १०८ श्रीमद्भागवत स्वर्णिम कल्याण सेवा परिषद्को ५८ औं अनुष्ठानले सम्बन्धित सबै भक्तजनहरुलाई सातै दिन महायज्ञमा सहभागी भएर शोभा बढाउनुका साथै सक्दो सेवा तथा सहयोग गरी आत्मिक ज्ञानका साथै पुण्य प्राप्त गर्नका लागि पनि आग्रह गरेको छ।