महालक्ष्मीका नगरप्रमुख श्रेष्ठद्वारा मंग्रातीलाई विद्यालय भर्ना

This News was posted on April 30, 18 1:47 am

१६ वैशाख , ललितपुर । नेपाल सरकारले वैशाख १ देखि सुरु गरेको यस वर्षको विद्यार्थी भर्ना अभियानमा महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले सुजना मंग्रातीलाई विद्यालय भर्ना गराएका छन् । वैशाख १६ गते आइतबार वडा नं ५ ,टिकाथलीमा अवस्थित महेन्द्रग्राम माविमा उपस्थित भइ सुजाताको नाम लेखाएर मेयर श्रेष्ठले अपनत्व ग्रहण गरेका हुन् ।

विपन्नताका कारण विद्यालयमा जान नपाएका बालबालिकालाई दुई जोर पोशाक उपलब्ध गराउनुका साथै विद्यालयमा भर्ना गरिदिन अपिल गर्दै वैशाख १ गतेदेखि सुरु भएको अभियानको १६ औ दिनमा नगर प्रमुख श्रेष्ठले आफूले ५ कक्षासम्म पढेको महेन्द्रग्राम माविमा दलित बालिकाको अपनत्व ग्रहण गरेको बताए । मावि तहसम्मको पढाइका लागि आवश्यक सम्पूर्ण खर्च व्यहोर्ने उल्लेख गर्दै मेयर श्रेष्ठले पूर्वाधार र जनशक्ति हुँदाहुँदै पनि सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्कनुलाई शिक्षक तथा विद्यालय प्रशासनले गम्भीर्ता पूर्वक लिनु पर्नेमा समेत जोड दिएका थिए । सुजनाका बुबा मृगौला रोगबाट पीडित भएकोले पनि ती बालिकाको शिक्षाका लागि आफूले सहयोग गर्ने श्रेष्ठले आश्वासन दिएका छन् ।

विद्यालयका प्रधानाध्यापक भरतबाबु खनालका अनुसार कक्षा नौसम्म अंग्रेजी माध्यमलाई प्राथमिकता दिँदै आएको विद्यालयमा दलित तथा बिपन्न समुदायका विद्यार्थीहरुका लागि समेत सहयोगी हातहरुको खाँचो रहेको छ । ११ आना क्षेत्रफलमात्र जग्गा रहेको विद्यालयमा ३५० जना विद्यार्थी अध्ययनरत छन् भने पूर्व बालविकासदेखि १० कक्षासम्म सञ्चालनमा रहेको विद्यालयमा २२ जना शिक्षक कार्यरत रहेको विद्यालयका लेखापाल कुमार खत्रीले जानकारी दिए ।

देशभर पाँचदेखि नौ वर्ष उमेर समूहका ८८ हजार २०७ बालबालिका विद्यालयमा पाइला टेक्नै नपाएको सरकारी तथ्याङ्क छ । आधारभूत तह उमेर समूहका तीन लाख १३ हजार २८९ बालबालिकाले विद्यालयगत कक्षाकोठाको मुख नै देख्न नपाएको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले बताए । विद्यालयमा प्रवेश गर्न नै नपाएका बालबालिकालाई भर्ना गराउँदाको खुसी र गर्वको विषय अरु हुनै सक्दैन । त्यसैले आफ्ना टोल समाजमा भएका त्यस्ता बालबालिकालाई विद्यालयसम्म पुर्याईदिन महालक्ष्मी नगरपालिकाले अनुरोध गरेको जनाइएको छ