माझखण्ड पर्यटन : महत्वाकाङ्क्षी परियोजना

This News was posted on May 14, 18 2:59 pm

गोपाल सञ्जेल
ललितपुरको माझखण्डलाई प्रकृतिले वरदान दिएको छ । यही देनलाई पर्यटकीय आकाङ्क्षाले ढाकेको हो । पर्यटन विकासका लागि प्रचुर सम्भावना भएकाले माझखण्ड पर्यटन विकास परियोजना बनाइएको हो । मुलुककै समृद्धिका लागि राज्यले पर्यटन क्षेत्र प्राथमिकताको सूचीमा राखेको हुँदा यसमा थप टेवा पुग्ने छ ।
काठमाडौँ हेटौँडा जोड्ने कान्तिलोकपथको भट्टेडाँडाको छपेली खण्ड वागमती गाउँपालिकाको केन्द्रसमेत हो । छपेली चक्रपथको सातदोबाटोबाट २५ किलोमिटरको दुरीमा पर्छ । यही बिन्दुबाट माझखण्ड आमनेसामने पर्छ । यही दुई बिन्दुलाई साधनले सिधा जोड्दामात्र माझखण्डको महत्वले उच्चस्तर हासिल गर्दछ । त्यो साधन भनेको पर्यटकलाई सर्वाधिक आकर्षित गर्ने र आकर्षक पर्यटन व्यवसाय भनेको केबलकार नै हो । यसको प्राविधिक, आर्थिक, सामाजिक, वातावरणका दृष्टिकोणले समेत उपयुक्त ठहर भएपछि छपेली– माझखण्ड केबलकारसहितको माझखण्ड पर्यटन परियोजनाको खाका बनाइएको हो । यो केबलकारको लागत ६० करोडको हुने छ । यसको लम्बाई २.८ किमी सिधा र सिङ्गल सिस्टमको स्वीस प्रविधिको अत्याधुनिक हुनेछ ।
माझखण्ड पर्यटन परियोजना धार्मिक, प्राकृतिक, जैविक, वानस्पतिक, सांस्कृतिक, सामाजिक सम्भावनाले भरिपूर्ण भएकाले यसको पूर्ण प्याकेज बनाइएको हो । भलै यतिबेला यसका पूर्वाधारका पूर्ण प्याकेज तयार छैनन् तर एउटा व्यवस्थिति मास्टर प्लान बनाउन थालिएको छ । स्थानीय सरकारको तर्फबाट यसैवर्षदेखि यसको शुरुवात भएको छ । यसमा प्रदेश र संघीय सरकारको सहयोग जुटाउन लागिने छ । तीनै तहको सरकार, निजी क्षेत्रको सार्थक र अर्थपूर्ण समन्वय र साझेदारीमा यस परियोजना अघि बढाइने छ ।
रुद्रेश्वर महादेव, माझखण्ड बुद्धविहार र टासीछ्योइलिङ गुम्बालाइ बृहत्तर विकास गर्ने योजनामा छ । यसले यहाँको धार्मिक पवित्रतालाई बोकेको छ । ग्रमीण जनजीवनलाई आकर्षित गर्न एकीकृत बस्ती विकासको खाका अघि सारिएको छ । सांस्कृतिक पक्षलाई मध्यनगर गर्दै सङ्ग्राहलय र नाट्यशाला निर्माण गरिने योजना छ । होमस्टे, साना होटल, कटेज, रेष्टुरेन्ट र ठूला होटलसँगसँगै बन्दै जानेछन् । निजी क्षेत्रलाई माझखण्डसम्म ल्याउन विशेष पहल गरिने छ ।
माझखण्डमा विशाल खुला स्थान भएकाले यहाँ फिल्म शुटिङ, कलासाहित्य सम्मेलन, पिकनिक, अम्युजमेन्ट पार्क, रिफ्रेसमेन्ट, साहसिक खेल (जीपफ्लाइङ, बञ्जीजम्प, प्याराग्लाइडिङ) का प्याकेज यहाँका विशेषता हुनेछन् । भेगीय, क्षेत्रीय, राष्ट्रिय, अन्तराष्ट्रिय मेला, उत्सव, महोत्सवहरुको सन्दर्भ जोड्ने कार्य हुने छ ।
पाँच किलोमिटरभन्दा लामो, फराकिलो, उच्च समस्थली हो माझखण्ड । यहाँबाट महाभारतीय रेञ्ज हुँदै ६/७ किलोमिटर माथि लाग्दा रमिते लेक पुगिन्छ । रमिते आफैमा नेचुरल भ्यु टावर हो । यो अत्यन्तै दुर्लभ स्थान पनि हो । यहाँबाट तराइ र काठमाडाँै एकै पटक देखिन्छ । पूरै हिमालय शृङ्खला देखिनु त विशेषता नै हुने भो । रमिते हुँदै पैदलमार्ग विस्तर गरेर अर्को प्रसिद्ध कालेश्वर मन्दिरसम्म पुगिन्छ । यसको बिचमा गिम्दीको चमेरे गुफा आउँछ । यसको भव्यता र प्राकृतिक सुन्दरताले हामीलाई लोभ्याउछ । कालेश्वरबाट झरेर वैतरणीधाम हुँदै गोटिखेलबाट काठमाडाँै भित्रिने मार्ग बन्ने छ ।
माझखण्ड पर्यटन परियोजनाले यस भेगको मात्र होइन जिल्लाकै पर्यटन क्षेत्रलाई ह्वात्तै माथि पु¥याउने छ । उपत्यकाकै अर्को आकर्षक गन्तव्यस्थान थपिने छ । गोदावरी, नगरकोट, धुलिखेल, चन्द्रगिरीसँगै माझखण्डको नाम थपिने छ ।
माझखण्ड पर्यटन परियोजनाको लाइफलाइन भनेको तराइ र काठमाडौँ जोड्ने बैकल्पिक निर्माणाधिन कान्तिलोकपथ नै हो । यसको तीब्र निर्माण कार्यले यहाँको धेरैभन्दा धेरै सम्भावना उजागर गर्दै जाने छ । माझखण्ड पर्यटन परियोजना यसैको उम्दा उदाहरण हो ।
आउनुहोस्, हामी सबै मिलेर यस परियोजना सफल पार्न लागौँ । हाम्रो परियोजना बनाउन हामीले लगानी नगरी सफल हुन्न । सबैको हुने वातावरण हामी बनाउँछौँ । यस परियोजनाका लागि डेष्टिनेशन माझखण्ड प्रा.लि.ले विगत एक वर्षदेखि सम्भाव्यता अध्ययन, अनुमति, प्राविधिक सर्वेक्षण, विस्तृत परियोजना प्रतिवेदन तयारी लगायतका कार्य सम्पन्न गरिसकेको छ । २०७६ दसैँसम्ममा निर्माण सक्ने लक्ष्य राखेको छ ।