रातो मच्छिन्द्रनाथको भोटोजात्रामा यस्तो देखियो(फोटोफिचर )

This News was posted on May 14, 18 1:34 am

ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो जावलाखेल मैदानमा प्रदर्शन गरिएको छ । भोटो जात्रा हेर्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कामु प्रधानन्यायाधीश दीपकराज जोशी र गृहमन्त्री रामबहादुर थापा जावलाखेल पुगेका थिए ।

जात्रा हेर्न मन्त्रिहरु, संघीय संसद्का सांसद, प्रदेशसभा सदस्य, उच्चपदस्थ सरकारी कर्मचारी र सर्वसाधारणको जावलाखेलमा भीड लागेको थियो । भोटो रातो मच्छेन्द्रनाथ र राष्ट्रपति भण्डारीलाई देखाएपछि रथको चारै सुरबाट तीन/तीन पटक उपस्थित सबैलाई देखाइएको गुठी संस्थान ललितपुर शाखा प्रमुख शैलेन्द्र पौडेलले जानकारी दिए ।

उक्त भोटो गुठी संस्थान ललितपुर शाखा कार्यालयका प्रमुखले सबैका सामु शिल हेरी जाँची मुचुल्कापछि तोडेर देखाइने चलन छ । भोटो जात्रा अवलोकन गराउन ललितपुरकी जीवित देवी कुमारीलाई जावलाखेलस्थित पाटीमा ल्याएर राखिन्छ । ललितपुरका १७ औं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्गलाई पनि राजकीय सम्मानका साथ समारोहस्थलमा ल्याइन्छ ।

भोटोका वास्तविक हकदारले सबुत प्रमाणसहित दाबी गर्न नआएसम्म मत्स्येन्द्रनाथकै जिम्मामा रहने ऐतिहासिक लोककथन छ। भोटो जात्राको दिन बिहानैदेखि जावलाखेलमा बत्ती बाल्ने, स्तोत्र पाठ पूजा गर्ने श्रद्धालुभक्तजनहरूको भीड लागेको थियो।