ललितपुर: निर्वाचनको अन्तरकुन्तर

This News was posted on June 13, 17 2:35 am

 
गोपाल सञ्जेल


मतदानको शैलीले बनेको विचित्रको बक्ररेखा नियाल्दा घोत्लिन बाध्य पार्छ ।
धन्न, ललितपुरमा पहिलो चरणमै निर्वाचन भो । खासै कुनै अप्रिय घटना नभई शान्तिपूर्ण रुपमा सम्मन्न स्थानीय तहको निर्वाचनमा मतदाताहरुले उत्साहपूर्वक मतदान गरे । १ महानगर, २ नगर र ३ गाउँपालिका भएको ललितपुरमा मिश्रित्र परिणाम प्राप्त भो । वागमती गाउँपालिका, गोदावरी नगरपालिका र ललितपुर महानगरमा कांग्रेसका उम्मेदवार विजयी भए भने महाँकाल गाउँपालिका र महालक्ष्मी नगरपालिकामा एमालेले विजय हासिल ग¥यो । कोञ्ज्योसोम गाउँ पालिकामा माओवादी केन्द्र विजयी भएको छ ।
मतदान सकिएको पनि महिना दिन बित्नै लाग्यो तर पनि चिया पसल, चोक, चौतारामा अझै निर्वाचनको तातो हावा सेलाएको छैन । दलहरु समीक्षामा घुराघुर गरिरहेछन् । आफूलाई केन्द्रमा राखेर गरिने समीक्षाले आफैभित्र दुविधा पाल्ने र सहयात्रीप्रति आशङ्काका काला बादल फाल्नुसिबाय केही हुँदैन । समीक्षाका नाउँमा गरिने सतही समीक्षाले अर्को पटक पाउने परिणाम पनि उही हो । वस्तुनिष्ट र निर्मम समीक्षाले नै सही मार्गनिर्देश गर्छ ।
यसपालिको निर्वाचनमा बडो गजब के पाइयो भने मतदान गर्ने सीप, शैली र सचेतना हेर्दा जान्ने बुझ्ने भनाउँदाहरु, दलका गिनेचुनेका कार्यकर्ताहरु र निर्वाचन आयोगका बिल्लाधारी अधिकारीहरु पनि चकित परे । सिधासिधी दलका चिन्हमा सात छाप लगाउने भन्दा फनफनी बक्ररेखा बनाएर क्रस भोटिङ गर्ने शैली ज्यादै रोचक र घोचक रह्यो ।
दलीय मत एक चौथाइ, गैरदलीय मत तीन चौथाइको हाराहारीमा मतपत्रको चाङ बन्थ्यो । मत गणकलाई मत गन्न हायलकायल पार्ने यही गैरदलीय बक्ररेखीय क्रस भोटिङ शैलीले पारेको थियो । मै हुँ भन्ने गणकलाई पनि एक घन्टमा १ सय मतपत्र गन्न मुश्किल पथ्र्यो । मत गणना अवधि हप्तौँ लाग्नुको कारण पनि यही बक्ररेखा मतदान शैली हो ।
महानगरका मेयरमा कांग्रेसका चिरीबाबु महर्जन झिनु मतान्तरले विजयी भए । मत गणना गर्दा आफूलाई निर्वाचन आयोगले नै लापर्वाही गरेर ३२६ मतले पछि पारेको, ४०० भन्दा बढी मत प्राप्त हुनुपर्ने जिकिर गर्दै एमालेका हरिकृष्ण व्यञ्जनकार चुकचुकाउँदै अदालतको ढोका ढकढकाउन पुगेका छन् । जब कि एमालेले राप्रपासँग तालमेल गरेको थियो । राप्रपाका बाबुकाजी प्रधानले १०५४० मत ल्याएका थिए । उम्मेदवारै खाली हुँदा समेत एमालेको सूर्य चिन्हमा ७ हजारभन्दा बढी मत आएको छ । हरिकृष्ण व्यञ्जनकार पराजित हुनुमा तालमेल गर्नु र त्यसैमा इमान्दारिता नहुनु नै हो भन्न सकिन्छ । नेताहरुका स्वार्थमा गरिएको तालमेल त मतदाताले कहीँ पनि रुचाएनन् । काठमाडौँ, पोखरा र भरतपुरमा पनि तालमेलले सबैलाई डुबायो । ललितपुर र काठमाडौँमा एमालेले तालमेल गर्दा दुवै पदमा पुरुषमात्र उम्मेदवार कायम गरेकाले पनि यो नियति भोग्नु परेको हो । प्रमुख वा उपप्रमुखमध्ये एक पदमा महिला हुनै पर्ने संवैधानिक अधिकार भत्काउन खोज्नु न्यायसंगत थिएन जो मतदाताले सच्याइदिए ।
उता अप्रत्यासित रुपमा साझा पार्टीका उपमेयरका उम्मेदवार शोभा शाक्य दोस्रो, मेयरका उम्मेदवार रमेश महर्जन तेस्रो हुँदा सबैले जिब्रो काटे । महानगरमा कांग्रेसका चिरीबाबु महर्जनको प्राविधिक जिताइ त भो तर राजनीतिक जिताइ मान्न सकिन्नँ ।
उता महालक्ष्मी र महाँकालमा कांग्रेसको व्यवस्थापनमा भ्रद्रगोलको फाइदा एमालेलाई भो भनिन्छ । यो भनाइले यी दुवै तहमा विजय पाएता पनि एमालेको अवस्था कमजोर नै झल्काउँछ । कोञ्ज्योसोममा माओवादी केन्द्र, कांग्रेस र एमालेबिचको त्रिपक्षीय प्रतिस्पर्धा उस्तैउस्तैमा माओवादी केन्द्रले बाजी मारेको हो । उम्मेदवार परक हुँदा परिणाम फरक पनि हुन सक्ने अवस्था साँचो हो । वागमतीमा कांग्रेसको नै सम्भावना बलियो थियो । तर, एमाले र माओवादीको मत पूर्वानुमानभन्दा राम्रो पाइयो ।
यता गोदावरीमा भने भेग, समुदाय, उम्मेदवारकै खात्राकखुत्रुकमा रुमल्लिएको पाइयो । उपमेयरमा एमाले थोरै कसरतमा चुक्यो भने मेयरमा एमाले र माओवादीभित्र व्यापक क्रस भोटिङ भएको कुरो भुसको आगोजस्तै भित्रभित्र तातेको पाइन्छ । कतै मर्माहत कतै उत्साहित, कतै कुठराघात कतै उठराघात । कतै विरासत डुब्यो त कतै नयाँ धरातल बन्यो । कसैका जुरा पलाए त कसैका सिङ भाँचिए ।
वडा तहभित्र पस्ने हो भने त दलीय मतको समेत बक्ररेखा लामै दुरीको छ । वडा अध्यक्ष जित्ने सदस्यहरु पराजित हुने वा सदस्यहरु जित्ने वडा अध्यक्ष परजित हुने स्थिति धेरै छ । सदस्यहरुको मत वडा अध्यक्षलाई आएको छैन, वडा अध्यक्षलाई आएको मत प्रमुख÷उपप्रमुखलाई आएको छैन । प्रमुखलाई आएको मत उपप्रमुखलाई छैन, प्रमुख÷उपप्रमुखलाई आएको मत वडा तहमा आएको छैन । मतदान शैलीको बक्ररेखा विचित्रले बनेको छ । दलहरुको यत्रो दबदबामा गोदावरी ८ मा स्वतन्त्र व्यक्तिहरुले वडा अध्यक्षसहित सदस्यहरुको प्यानलै विजय भएका छन् ।
मत परिणाम कांग्रेस, एमाले र माकेकै पोल्टामा पर्नुको कारण सत्ता, बलमिच्याईँ, आचारसंहिताको व्यापक उल्लङघन, धनदौलतको छेलोखेलो नै हो । उम्मेदवार चयनदेखि नै पैसा बोलेपछि न्याय त मर्ने नै भो !
दलहरुका समीक्षाको निष्कर्ष त सार्वजनिक भएको छैन तर मतदाताले चाहेको न्याय र खोजेको परिणाम बारे वस्तुनिष्ट र निर्मम समीक्षा नभए फेरि पनि चुकचुकाउनुको विकल्प हुने छैन । २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा कसले जित्यो भन्दा पनि जनताले आफ्ना प्रतिनिधि पाए । निर्वाचित प्रतिनिधिले स्थानीय सरकारको हैसियत पाएका छन् । यिनले चाहे भने वा इच्छाशक्ति र काम गर्ने ढङ्ग पु-याए भने परिवर्तन टाढा छैन ।