लाईभ दोहोरीकी ‘क्वीन’, कमेडीकी गुलियो ‘जेरी’ – बबिता बानियाँ

This News was posted on March 22, 18 4:59 am

सन्तोष दहाल


काठमाडौँ,०८ चैत्र ।  बबिता बानियाँ अर्थात ‘जेरी’। जेरीको गुलियोको लागि सबै लट्ठ परेझैं बबिता बानियाँ जेरी को नाम सुन्नासाथ उनको प्रतिभाको स्वाद चाख्न जोकोही छुट्न चाहान्नन । खुबी पनि बेजोडकै छ, लाइभ दोहोरीमा छोड्ने शब्दका तीखो झटारो होस् या हास्य व्यंग्यमार्फत कसैलाई छेड हान्न होस्, हल्का दाँत देखाएर जब खिसिक्क मुस्कान दिन्छिन,उनले प्रस्तुत गर्ने शाब्दिक झटारोको अभिव्यक्ति केही हदसम्म बुझ्न सकिन्छ । उनका शब्दमा रससँगै हास्य व्यंग्यको पनि मिश्रण भेटिन्छन ।

 

गोरखामा जन्मिएकी बबिता बानियाँ प्रखर लोक दोहोरी गायिका र हास्य कलाकार हुन् । पछिल्लो समय लाईभ दोहोरी क्वीनको उपमा पाएकी उनले लोक दोहोरीमार्फत नै आफ्नो कलाकारिता यात्राको सुरुवात गरेकी हुन् । अहिले गायन ,हास्यव्यंग्य र केही कार्यक्रमहरुमै व्यस्त रहेकी उनी ठमेलमा अवस्थित गामबेंसी दोहोरी साँझमा पनि नियमित गाउँदै आएकी छिन्। २०६७ सालमा दोहोरी साँझकै माध्यमबाट पेसागत रूपमा आफ्नो कलाकारिता यात्राको प्रारम्भ गरेकी बबिताका हालसम्म ११ वटा आफ्नै लोक दोहोरी गीत, एउटा एकल लोकगीत र एउटा आधुनिक गीतका एल्वमहरु रेकर्ड भएका छन्।

लोक गीतसंगीत र लोक संस्कृति के हो भन्ने प्रश्नमा जेरी भनिन्, “लोक अर्थात जनमानसको हाँसो,पीडा,खुसी ,रोदनलाई सुर,तालमार्फत शब्द र भाव मिलाएर प्रस्तुत गर्नु नै लोकगीतसंगीत र संस्कृति हो ।” लोकगीत संगीतको क्षेत्रमा नेपाली मौलिकतालाई भुल्नु हुँदैन भन्ने जेरीको मान्यता रहेको छ । पछिल्लो समय यस क्षेत्रमा भित्रिएका छाडापन,अश्लीलता र विकृतिप्रति उनी चिन्तित देखिन्छिन ।उनी भन्छिन्, “कला भन्दा पनि छाला र अंगको प्रदर्शन गर्ने गलत र लाजमर्दो प्रवृतिले लोकदोहोरीको क्षेत्रमा विकृति र भद्दापन मौलाएको छ । चर्चामा आउनकै लागि छाडा बोल्ने,अंगप्रदर्शन गर्ने र त्यस्तै किसिमको भिडियो निर्माण गरी युट्युबको दर्शक बढाउने प्रवृतिले अहिले राम्रा र क्षमतावान कलाकारहरुलाई पर्दापछाडी धकेलेको छ । यो प्रवृतिलाई हटाउनको लागि त्यस्ता कलाकार भनाउदा र भिडियो हरुलाई सार्वजनिक रूपमै बहिष्कार गर्नुपर्छ र छाडा मनोवृत्ति भएका व्यक्तिहरुलाई कार्यक्रमहरुमा पनि प्रोत्साहान दिनुहुँदैन।”

Image may contain: 13 people, child and outdoor

२०७३ मा हास्यव्याँग्यात्मक गाइजात्रे प्रस्तुति जेरी वाचन मार्फत बबिताले कमेडियन क्षेत्रमा प्रवेश गरिन्। सप्ताह महायज्ञमा वाचन गरिने भागवतपाठको शैलीमा प्रस्तुत गरिएको उक्त गाइजात्रे प्रस्तुति पनि सुरुदेखि नै लोकप्रिय बन्यो। त्यही लोकप्रियताको फलस्वरूप उनले हाक्काहाक्की,डिट्ठासाप, रिसानी माफ,कमेडीको झट्का लगायतका हास्य टेलिसिरियलमा पनि अभिनय गर्ने अवसर प्राप्त गरिन् ।

 

गायन र हास्य व्यंग्यमध्ये कुनै एक रोज्नुपर्ने अवस्था आए कुन रोज्नुहुन्छ भन्ने मानव आवाज डट कमको जिज्ञासामा जेरीले भनिन्, “मेरा लागि कमेडी र गायन दुवै आवश्यक छ्न,तर केहीगरी एकमात्र रोज्नुपर्ने अवस्था आयो भने गायनलाई नै रोज्छु किनकि यही नै मेरो कलाकारिताको पृष्ठभूमि हो,वास्तविक धरातल हो र बबिता बानियाँ नाम यही क्षेत्रले दर्शक श्रोतामाझ चिनाएको छ ।”

कलाकारिता क्षेत्रमा प्रवेश गर्दाका सुरुवाती दिनहरुमा धेरै मेहनत,दुख र संघर्ष गर्नुपरेको बबिता सम्झिन्छिन। कतिपय ठाउँमा काम गरेको पैसा समयमा नपाउने वा पाउदै नपाउने, छोरीमान्छे भएपछी कतिपयले गलत दृष्टिकोणले हेर्ने, हरेक काममा असहयोग गर्ने गर्दथे,यी सबैका बाबजुत संघर्ष गर्दै लड्दै अगाडी बढिरहिन,तर उनले कहिल्यै हरेस खाईनन र सानोतिनो प्रलोभनमा बहकिएर गलत बाटोमा पनि कहिल्यै हिडिनन ।“त्यसैको फलस्वरूप हाल यो स्थानमा आइपुग्न सफल भएको हुँ,कोसिस गर्नुपर्छ ,कडा मेहनत,केही नयाँपन र पेसाप्रतिको निरन्तरताले पक्कै सफल हुन सकिन्छ ।” उनले भनिन् ।

२६ वर्षीय बबिता अविवाहित छिन्। जीन्दगीमा कुनै समय जानेर या नजानेर कसैसँग गहिरो प्रेम बसेको उनले बताइन्। तर विविध कारण या दुर्भाग्यले त्यो प्रेम सफल हुन सकेन। त्यसपश्चात प्रेम र विवाहको बारेमा नसोचेको वास्तविकता बताउदै उनले भनिन्, “भविष्य र करियरको दौरानमा छु, अहिलेसम्मको अवस्थामा विवाह अनिश्चित छ, यसबारे योजना बनिसकेको छैन।”

Image may contain: 1 person, standing, tree and outdoor

कलाकारिता क्षेत्रमा लागेर चर्चाको शिखरमा पुग्ने उनको बच्चैदेखिको रहर हो। सुरुसुरुमा घरपरिवारको पनि खासै सहयोग पाएकी होइनन्,आफ्नी दिदीको हल्का प्रेरणाले अगाडी बढ्ने कोसिस गरेकी थिईन, तर आवश्यक साथ थिएन। पछि चर्चा र नाम कमाउदै गएपछि भने सबैले ठूलो आशा राखेका छन् ।अब भविष्यमा पनि कमेडी र गायन शैलीलाई नि निरन्तर रूपमा अगाडी बढाउने प्रण छ जेरीको,जसका लागि आफ्ना सम्पूर्ण शुभचिन्तक र दर्शक श्रोताहरुलाई सधैंभर माया,साथ,सकारात्मक प्रतिक्रिया र सुझाव सल्लाह दिन जेरीले आग्रह गरिन्।

बबिता बाबियाँ जेरी को आवाजमा रहेको लोकदोरी गीत भर्खर भर्खर हो (भिडियो हेर्नुहोस )