लाज पचाएका पराजुली पासोमा

This News was posted on March 17, 18 10:40 am

गोपाल सञ्जेल
सर्वोच्च अदालत । प्रधानन्यायाधीश । न्याय सम्पादन, न्यायिक प्रशासन र अन्तिम न्याय । यसका पनि प्रमुख व्यक्ति । सम्मानित र सर्वोच्च पदासिन । यसैको गरिमालाई व्यक्तिगत स्वार्थमा प्रगोग गरियो भने परिणाम कस्तो आउला ? स्वार्थले अपराध सिर्जना गर्दछ । अपराधले समाजालाई अँध्येरोतर्फ धकेल्छ । अरुलाई न्याय दिन सकेन भने अन्ततः उसैले न्याय पाउँदैन ।
भर्खरै राजीनामा दिएर विवशतापूर्वक बाहिरिएका प्रधानन्यायाधीश गोपाल पराजुलीका सन्दर्भमा यही देखियो । विवादैविवादमा प्रधानन्यायाधीशको कार्यसम्पादन गर्दै आएका उनी धोती खुस्किने गरी नाङ्गै उत्रिए । राष्ट्रको मूल ढुकुटी नै मार्ने गरी पटकपटक उनका फैसला आए । ६१ अर्बभन्दा बढी राजश्व उनकै फैसलाका कारण मरेको तथ्याङ्क सार्वजनिक भयो । राजनीतिमा समेत नराम्रोसँग मुछिए । सत्तालाई चावुक लगाउनु पर्ने अदालत उल्टै सत्ताको ताबेदारी गरे । अरुका धेरै न्याय मारे । आफू जन्मेको तिथिमितिसमेत ढाकछोप गर्दै, लुकाउँदै, छल्दै आएका पराजुली उहिल्यै निवृत्त भइसक्दा पनि पदमा आसिन भइरहे । राज्य संयन्त्रलाई दिनदहाडै ढाँट्ने आँट कसरी गरे ? ढाट्ने पनि सीमा हुन्छ । सीमा नाघेपछि तीर पनि आफैतिर फर्किन्छ भन्ने सामान्य ज्ञानको हेक्कासमेत नराख्दा पराजुली आफुले थापेको पासोमा आफै परे । आफुलाई ढांटे । राज्यलाई ढाट्दा आफै लज्जित भए ।

उनका राजनीतिक सखी प्रधानमन्त्री भएका बेला सबभन्दा धेरै विवादित फैसला भएका छन् । के यो संयोग मात्र हो भन्न सकिन्छ ? एउटा गल्ती छोप्न अर्को गल्ती गर्दागर्दै अन्तिममा आफैँ पासोमा गरेका हुन् पराजुली ।
‘पाप धुरीबाट कराउछ ।’ बाउबाजेले भन्दै आएथे, ‘अहिले अपराध गरे नातीका पालाँ देखिन्छ,’ तर समयले यतिछिटो बेग मा-यो कि पाप धुरीबाट होइन, ढोकाबाटै डुक्रिन थालिसक्यो । नातीका पालासम्म पर्खिनै पर्दैन, तात्तातै छिनभरमै देख्न पाइन्छ ।
सर्वोच्च शक्ति हातमा लिएका पराजुली क्षणभरमा निरिह बने । निरिहमात्र होइन निकम्बा देखिए । सार्वजनिक रुपमा मुख देखाउन नसक्ने गरी लज्जित बने । आख्तियार प्रमुख हुँदा पदको सीमाहिन दुरुपयोग गरेर शक्ति सम्पन्न बनेका लोकमानसिंह कार्कीलाई ठेगान लगाउने त्यही अदालत आज सिङ्गो न्यायिक क्षेत्रको शिर झुकाइदिए पराजुलीले ।
चाहे लोकमानसिंह कार्कीको कुरो होस् वा गोपाल पराजुलीको । चाहे चुडामणि शर्माको होस् वा गोपाल खड्काको । राजनीतिक आडमा शक्तिमा पुग्ने र राजनीतिक संरक्षणमै देश डुबाउने भ्रष्टहरुको जालो च्यातिनु पर्छ । राजनीति खुल्नुपर्छ । बोलिनुपर्छ । जवाफदेही हुनुपर्छ । पराजुलीजस्ता अनैतिक व्यक्तिहरुलाई शक्तिमा लैजानेहरु पनि कारवाहीको भागिदार बन्नुपर्छ । मिडियाले पनि यस्ता कुरामा दुविधा र विभाजित हुनुहुन्न । जसले इस्यु उठान गरेको भए पनि ऐक्यवद्धताका लागि कञ्जुस्यार्इँ गरिनुहुन्न । मिडियामात्रै जोगिन सक्यो र निर्धक्क लेख्न सक्यो भने धेरै ठूला सफलता पाइने कुरो प्रस्ट हुँदै छ ।