विद्यार्थी भर्ना अभियान असफल, पुनः भर्ना अभियान शुरु

This News was posted on June 6, 18 11:23 am

ललितपुर । ०७५ जेठ २३ गते

रमेशप्रसाद तिमल्सिना

पहिलो चरणको विद्यार्थी भर्ना अभियान असफल भएपछि सरकारले पुनः दोश्रो चरणको भर्ना अभियान शुरु गरेको छ ।

भर्ना अभियान अन्तर्गत प्रत्येक घरधुरी सर्वेक्षण गरी पहिलो चरणको भर्ना अभियानमा छुटेका बालबालिकालाई अनिवार्यरुपमा विद्यालय ल्याउने कार्यक्रम गर्ने सरकारले जनाएको छ । मन्त्रिपरिषद्को जेठ २३ गते बसेको बैठकले पुर्न भर्ना अभियान शुरु गर्ने घोषणा गर्दै यस चरणको कार्यक्रम सघन हुने दावी समेत गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पहिलो चरणको भर्ना अभियानबाट विद्यालयमा भर्ना गर्न नसकिएका ५९ हजार ७ सय ३३ बालबालिकालाई लक्षित गरी नयाँ कार्यक्रम शुरू गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेलगत्तै बसेको बैठकले सो प्रस्ताव स्वीकृत गरेको हो ।

भर्ना अभियानअन्तर्गत कुनै पनि बालबालिका विद्यालयबाहिर नरहेको घोषणा गर्ने, सबै प्रदेशका सामाजिक विकासमन्त्री र जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखहरूको बैठक राखेर बालबालिकालाई भर्ना गराउने योजना सरकारले अघि सारेको छ ।

सरकारले हालै सार्वजनिक गरेको बजेटमा पनि विद्यालय ल्याऔं, टिकाऔं र सिकाऔं अभियान सञ्चालन गर्ने उल्लेख गरेको छ । उक्त अभियानलाई सफल बनाउन दोस्रो चरणको भर्ना अभियान सञ्चालन गर्न लागिएको हो ।

विद्यालयबाहिर रहेका ३ लाख १३ हजार २ सय ९८ मध्ये पहिलो चरणको भर्ना अभियानको क्रममा २ लाख ५६ हजार ५ सय ५६ विद्यार्थी विद्यालय भित्रिएको शिक्षा मन्त्रालयको तथ्यांकले देखाएको छ । पहिलो चरणको भर्ना अभियानअन्तर्गत ५ देखि ९ वर्ष उमेर समूहका कक्षा १ देखि ५ सम्म ८८ हजार २ सय ७ मध्ये ७६ हजार ६ सय ५७ र ५ देखि १२ वर्ष उमेर समूहका कक्षा १ देखि ८ सम्म ३ लाख १३ हजार २ सय ८९ मध्ये २ लाख ५३ हजार ५ सय ५६ बालबालिका मात्रै विद्यालयमा भर्ना भएका थिए ।

पछिल्लो तथ्यांकअनुसार भर्ना अभियानका क्रममा प्रदेश १ मा विद्यालयबाहिर रहेका १ लाख ७२ हजार ८ सय ७४ मध्ये अभियान सकिएपछि पनि ३३ हजार ९ सय ९५ बालबालिका अझै विद्यालयबाहिर रहेका छन् ।

विभागका अनुसार प्रदेश २ मा १ लाख ८ सय ६४ मध्ये २४ हजार ३ सय २६, प्रदेश ३ मा २६ हजार ७ सय २६ मध्ये ५ हजार ७ सय ७२, प्रदेश ४ मा ११ हजार ५ सय ४५ मध्य २ हजार ५ सय ४४, प्रदेश ५ मा ५३ हजार ५ सय ६६ मध्ये १३ हजार २ सय १५, प्रदेश ६ मा १० हजार ८ सय ९२ मध्ये २ हजार ३ सय ९७ र प्रदेश ७ मा १५ हजार ९ सय ६८ मध्ये ३ हजार ५ सय ५८ जना बालबालिका विद्यालयबाहिर छन् ।