विद्या भण्डारीको राजनीतिक यात्रा- स्ववियु जिल्ला प्रतिनिधिदेखि दोश्रो कार्यकालको राष्ट्रपतिसम्म

This News was posted on March 13, 18 2:15 pm

काठमाडौँ । संघीय गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपतिका रुपमा दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएकी वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः शीतल निवासको प्रवेशको ढोका खुलेको छ ।

लोकतान्त्रिक र वाम आन्दोलनका क्रममा सशक्त भूमिका निर्वाह गर्दै मुलुकको राष्ट्रप्रमुख पदमा पुगी एक कार्यकाल सफलतापूर्वक पूरा गरेकी भण्डारीलाई आज सम्पन्न राष्ट्रपति निर्वाचनले भारी मतका साथ निर्वाचित गरेको हो । अघिल्लो पटक र यसपटक पनि नेकपा (एमाले) को समर्थनमा उम्मेदवार बनेकी राष्ट्रपति भण्डारीलाई यसपटक वाम गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) का साथै संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले पनि मत दिएका छन् ।

एमालेका तत्कालीन उपाध्यक्ष र संविधानसभाका सदस्य रही संविधानसभाबाट संविधान लेखनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण उहाँलाई अघिल्लो कार्याकालका लागि सो पार्टीले राष्ट्रपतिको उम्मेदवार बनाएको थियो । नेपालको संविधान जारी भएपछिको राष्ट्रपति निर्वाचनमा उहाँ व्यवस्थापिका संसदबाट २०७२ कात्तिक ११ मा सो पदमा निर्वाचित भएकी थिइन् । पहिलो महिला राष्ट्रपतिका रुपमा दक्षिण एसियामै चर्चामा रहेकी भण्डारीले अघिल्लो कार्याकालमा संविधानले निर्दिष्ट गरेको भूमिका सक्षम र निर्विवादरुपमा कार्य सम्पादन गरेकी छिन् । राजनीतिक खिचातानीका कारण कतिपय सन्दर्भमा राष्ट्रपतिको भूमिकाबारे प्रश्न उठे पनि उहाँको भूमिकाबाट कुनै संवैधानिक तथा कानूनी संकट आएको देखिएको छैन । उहाँले अघिल्लो कार्याकालमा संवैधानिक विवाद र राजनीतिक अन्योल बढेका बेला संविधानको कार्यान्वयनमा सहयोग पुग्ने गरी सहमति र निकासको बाटो लिएकी थिइन् ।

यसअघिकोे कार्यकालमा उहाँले छिमेकी मुलुक भारत, चीन र संयुक्त राज्य इमिरेटको औपचारिक भ्रमण गरेकी थिइन् । विगतमा राजनीतिक यात्राका क्रममा भण्डारीले भारत, चीन, पाकिस्तान, बंगलादेश, श्रीलंका, ब्राजिल, अमेरिका, क्यानाडा र इटालीको भ्रमण गरिसकेकी छिन् । राष्ट्रपति भण्डारीको नेपाल कम्युनिष्ट पार्टीका संस्थापक जननेता मदन भण्डारीसँग पार्टीकै आयोजनामा विसं २०३९ मा विवाह सम्पन्न भएको थियो । पछि उहाँको संरक्षकत्वमा मदन भण्डारी फाउण्डेसनसमेत स्थापना भएको थियो ।

विसं २०१८ असार ५ गते भोजपुर जिल्लाको मानेभञ्ज्याङमा बुबा रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेकी सुपुत्रीका रूपमा जन्मिएकी भण्डारीको अध्ययन बाल्यकालमा बेहेरेश्वर प्राथमिक विद्यालय, भोजपुरबाट अध्ययन सुरु गरेकी हुन् भने माध्यमिक शिक्षा विद्योदय व्यावसायिक सेकेन्डरी स्कुलबाट हासिल अरेकी हुन् ।

राष्ट्रपति भण्डारीले भोजपुर क्याम्पस, भोजपुरमा आइए र महेन्द्र मोरड कलेज विराटनगरमा बिए अध्ययन गरेकी छिन् । भोजपुर क्याम्पसमा पढ्दा विसं २०३५ मा तत्कालीन नेकपा (माले) सम्बद्ध युवा लिगमा संगठित भई विसं २०३७ मा काठमाडौँमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको पाँचौँ राष्ट्रिय सम्मेलनमा भोजपुर जिल्लाबाट प्रतिनिधि छानिएकी हुन् । विसं २०३७ मा तत्कालीन नेकपा (माले) को सदस्यता प्राप्त गरी विसं २०३६ देखि विसं २०४४ सम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, पूर्वाञ्चलको सदस्य भई काम गरेकी उनले विसं २०३९ देखि २०४० सम्म महेन्द्र मोरड क्याम्पसको स्ववियु कोषाध्यक्षमा निर्वाचित भई विद्यार्थी फाँटमा काम गरिन् ।

विसं २०४६ मा कीर्तिपुरमा भएको अखिल नेपाल महिला संघको पहिलो सम्मेलनमा मोरङको तर्फबाट प्रतिनिधि हुनभएकी विद्याले विसं २०५० देखि विसं २०५४ सम्म नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) को महिला विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालिसकेकी छिन्। विसं २०५४ मा नेपालगञ्जमा भएको एमालेको छैठौँ महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य बनेकी भण्डारी विसं २०५४ मा अखिल नेपाल महिला संघको अध्यक्षमा निर्वाचित भएर दुई कार्यकाल नेतृत्व गरिन् । वि सं २०५९ मा जनकपुरमा भएको एमालेको सातौँ महाधिवेशनमा केन्द्रीय कमिटी सदस्य र विसं २०६४ मा बुटवलमा भएको आठौँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएकी उनी विसं २०७१ मा काठमाडौँमा भएको नवौँ महाधिवेशनबाट पनि पुनःउपाध्यक्षमा चयन भईन।

भण्डारी विसं २०५० माघमा सम्पन्न भएको उपनिर्वाचनमा काठमाडौँ–१ बाट प्रतिनिधिसभा सदस्यमा र २०५१ मा सम्पन्न मध्यावधि निर्वाचन तथा विसं २०५६ मा सम्पन्न तेस्रो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ– २ बाट निर्वाचित भएकी थिइन् । एमाले नेता माधवकुमार नेपाल नेतृत्वको सरकारमा उहाँ विसं २०६७ देखि २०६९ सम्म रक्षामन्त्री भएकी थिइन् ।