सरस्वती प्रतीक्षाको डिभोर्स उत्सव, साहसिक उदाहरण कि नौटंकी ?

This News was posted on December 8, 18 12:10 pm

काठमाडौँ । साहित्यकार सरस्वती प्रतीक्षाले एक अर्कासँग बस्न नसक्ने भनी पति ठाकुर पन्तसँग चार वर्षअघि सम्बन्धविछेद गरिन् । एक छोराका आमाबाबु बनेका उनीहरू डिभोर्सपश्चात आ आफ्नो भाग लिएर छुट्टाछुट्टै बस्न थाले ।

स्वाभाविक रूपमा डिभोर्स भईसकेपछि एकअर्कामा भेटघाट गर्ने र बोलचाल गर्ने अवस्था रहन्न । तर भर्खरै उनीहरुले एक अर्काबीच भेटवार्ता मात्र गरेनन्, सँगै रेस्टुराँमा बसेर लन्च गरेको तस्वीर खिची सामाजेक संजालमा पोस्ट गरिन् सरस्वतीले । यसरी यी दुई जोडीले फरक तवरले डिभोर्स सेलिब्रेसन मनाएका छन् ।

आफ्ना पूर्वपतिसँग सँगै रेस्टुरेन्टमा लन्च गरेको फोटो सामाजिक सञ्जालमा सेयर गरेकी सरस्वतीले उक्त भेटलाई एक उत्सवको रूपमा समेत परिभाषित गरेकी छन् । सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘सम्बन्ध बिच्छेद गरेको आजबाट ठीक तीन वर्ष पूरा भएर चार वर्ष लागेको उपलक्ष्यमा ठाकुरजीसँग भेटेर लन्च गरियो’, उनले लेखकी छन्– ‘सम्बन्ध विच्छेदपछि आ-आफूले बाँचेको जीवनको समीक्षा पनि गरियो। सेलिब्रेट गर्न जान्यो भने सम्बन्ध विच्छेद एक उत्सव बनिदिँदो रहेछ।’

यस विषयलाई कतिपयले साहस देखाएको भन्दै प्रशंसा गरेका छन् भने कतिले नौटंकी भन्दै परिभाषित गरेका छन् । पर्यटनमन्त्री रविन्द्र अधिकारीले सरस्वतीको पोस्टमा ‘हो नि, राम्रै भयो।’ भनी सकारात्मक कमेन्ट गरेका छन् ‘हो नि, राम्रै भयो।’ तर कानून मन्त्रालयका सहसचिव फणिन्द्र गौतमले कटाक्ष गर्दै लेखेका छन्, ‘सम्बन्धको स्मशानलाई आदर्श नठानौं साहित्यकारज्यू ।’ यसैगरी पूर्व मुख्य निर्वाचन अायुक्त निलकण्ठ उप्रेतीले लेखेका छन्, खुसीहुनु ठूलो कुरा हो जीवनमा सगै हुँदा समद्दारी कम हुनगै खुसी र मानसिक सुख टाढा भएको अवस्थावाट सम्वन्धनै टाढा गरेर पनि मित्रता जीवीत राख्नुहुने तपाईं दुवै हाम्रो समाजकोलागि सुखद उदारहण वन्नुहोस । शुभकामना छ !

कतिपयले भने यस विषयलाई थप चर्चामा आउने नयाँ काईदा भनेर पनि विश्लेषण गरेका छन् । जे होस्, उद्देश्य र अभिप्राय जेसुकै भए तापनि यो भेटघाट र पोस्टबाट उनीहरुको भेटघाटले राम्रै चर्चा कमाएको छ । नयाँ पुस्ताकी आशलाग्दी प्रतिभा मानिने सरस्वतीको पहिलो उपन्यास ‘नथिया’ यसै वर्ष प्रकाशित भएको छ, जुन मदन पुरस्कारको लागि सर्टलिस्टमा समेत परेको थियो । बादी समुदायको कथालाई लिएर उनले यो उपन्यास लेखेकी हुन् ।

अन्तरजातीय विवाह गरेकी सरस्वतीका पूर्वपति ठाकुर पन्त व्यवसायी हुन् । सम्बन्धविच्छेद पश्चात दुबैजना पोखरामा छुट्टाछुट्टै बस्दै आएका छन् भने छोरा चाहिँ सरस्वतीसँगै छ न् ।