सहकारी अवलोकन भ्रमणबाट यथेष्ट ज्ञान हासिल

This News was posted on May 3, 19 2:04 pm

ललितपुर, २० वैशाख । राष्ट्रिय सहकारी महासङ्घ लि. पुल्चोक, ललितपुरको संयोजनमा जिल्ला कृषि सहकारी सङ्घ लि. ललितपुरद्वारा आयोजित अवलोकन भ्रमणबाट धेरै ज्ञान हासल गरिएको भ्रमणमा सहभागिहरूले बताएका छन् ।

सङ्घमा आबद्ध प्रारम्भिक सहकारी संस्थाका पदाधिकारीहरू तथा कृषकहरूलाई लक्षित गरी मित्रराष्ट्र भारतको महाराष्ट्र उत्तर प्रदेशको छत्तिसगढ राज्यको आधुनिक कृषि तथा सहकारिताको अभ्यासको अध्ययन अवलोकनका लागि कृषि सङ्घका महिला उपाध्यक्ष इन्द्रकुमारी थापाको संयोजकत्वमा, सङ्घका शिक्षा तथा तालिम उप–समिति सदस्य आदर्श तिमल्सिनालगायत रामजी घिमिरे, हरिचन्द्र घिमिरे, केदारप्रसाद तिमल्सिना, सुभाष महत, बलराम घिमिरे, सरस्वती संजेल, सुशीला तिमल्सिना घिमिरे, सबिना दाहाल, टङ्कप्रसाद तिमल्सिना, रामबहादुर महर्जन, रेवेन्द्रप्रसाद तिमल्सिना, टुक्रप्रसाद तिमल्सिना र रोशन घिमिरेसमेत १५ सदस्यीय अध्ययन अवलोकन टोलीले सो कुरा जनाएको हो ।

टोली गत चैत ३० गतेदेखि ०७६ वैशाखगतेसम्मभ्रमण टोलीले मित्रराष्ट्र भारतको छत्तिसगढ राज्यका विभिन्न स्थानमा सञ्चालित सहकारी संस्थाहरूको अवस्था तथा ती संस्थाले सञ्चालन गरेका परियोजनाहरू, कृषि क्षेत्रमा गरेका कार्य तथा आधुनिक यन्त्र उपकरणहरू प्रयोगको अवस्था, सहकारी संस्थाहरू सञ्चालन गर्ने तरिका तथा राज्यको नीतिलगायत सहकारिताको अभ्याससम्बन्धी अनुभव आदान प्रदान गरेको थियो ।

टोली नेपालबाट गत चैत २८ गते प्रस्थान गरेको थियो । सात दिने भ्रमणका क्रममा भ्रमण टोलीले बालोद जिल्लामा सञ्चालित भिलाई स्टिल प्लान्ट, फलाम खानी, एसियाकै ठूलो रथको अवलोकन, सप्तगिरी पार्कको भ्रमण, बालोद जिल्लाका कलेक्टर रानु साहुलगायत विभिन्न उच्च पदस्थ व्यक्तित्वहरूसँग भेटघाट, अन्तरक्रिया गरेको थियो । वैशाख १५ गते ललितपुर जिल्ला कृषि सहकारी सङ्घ लिले ललितपुरमा भ्रमणको समीक्षा कार्यक्रममा अध्यक्ष ओमदेवी मल्लले पहिलो अन्तर्राष्ट्रिय भ्रमण गराउन पाएकोमा गौरवान्वित भएको बताउँदैप्रथम ऐतिहासिक भ्रमणमा सहभागी भएर भ्रमण सफल पारेको भन्दै टोलीका सदस्यहरूलाई धन्यवाद दिइन् ।

यसै क्रममा सहभागिहरूको तर्फबाट बोल्दै सुभाष महतले भ्रमण ऐतिहासिक रहेको बताए । उनले भ्रमणले नेपाल र भारतको सम्बन्धलाई सहकारिताको धागोले उनेर एउटा सुन्दर माला बनाउन कोसेढुङ्गा सावित भएको धारणा राखे । ‘यस्ता भ्रमणबाट अवसरको खोजीमा खाडी मुलुकमा गएर रगत र पसिना बगाउने नेपाली युवाहरूलाई स्वरोजगार र आत्मनिर्भर बन्न प्रेरणा मिल्छ । नयाँनयाँ ज्ञान, सीप र प्रविधि भित्राउन टेवा मिल्छ ।’–महतले भने । भ्रमण टोलीकी संयोजक इन्द्रकुमारी थापाले आगामी दिनमा फुटेर होइन जुटेर लाग्ने हो भने सङ्घ अझै बलियो हुने बताइन् । ‘सङ्घ बलियो भएमा यस्ता अवसर अझै धेरै भित्रने भएकोले सङ्घलाई बलियो बनाउन सबै एकजुट हुनुपर्छ ।’–थापाले भनिन् ।