सामाजिक क्षेत्रमा नमुना सहयोगी बन्दै बैद्धिक अपाङ्गता दिवा केन्द्र

This News was posted on March 19, 18 9:16 am

सन्तोष दहाल,ललितपूर


‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने भावनालाई आत्मसाथ गर्दै वि.सं.२०७० चैत्र १८ मा जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भई बौद्धिक अपाङ्गताको क्षेत्रमा कार्य गर्दै आएको सामाजिक संस्था हो बौद्धिक अपाङ्गता दिवा केन्द्र । ललितपुरको महालक्ष्मी नगरपालिका ८,लुभूमा रहेको केन्द्रमा आश्रित बाल–बालिकाहरुको शिक्षा दीक्षा र स्याहार सुसारका लागि सेवारत अभिभावकज्यूहरुको ‘मानवीय मर्म बुझ्नु नै संस्थाको मुख्य धर्म हो’ भन्ने विश्वास एवम् निःस्वार्थ सेवाभाव कै कारण नै यो केन्द्र आज धेरै माथि उठ्न सफल भएको छ । कर्म गर फलको आशा नगर भन्ने भगवत् गीताको पवित्र वचनलाई आत्मसात् गर्दै यस बौद्धिक अपाङ्गता दिवा सेवा केन्द्र सञ्चालनार्थ यस केन्द्रका सबै सदस्यहरु अहोरात्र खटिरहेका छन् ।

९ जनाबाट सुरु गरिएको केन्द्रमा हालसम्म ३२ जनाको नामावली दर्ता कायम भइ सकेको छ । तर, फरक खालका शारिरीक एवम् मानसीक अपाङ्गताका समस्याहरु (जस्तैःअटिजम ,सुस्तमनस्थिति ,मानसिक पक्षघात,डाउनसिजम।) भएकाहरुलाई सीमित स्रोत, साधन एवम कोठाहरुबाट दैनिक क्रियाकलापहरु संस्थाले सञ्चालन गर्दै आएको छ । चन्चल कुमार कार्की अध्यक्ष रहेको यस संस्थामा प्रभा घिमिरे सचिव र योगेश श्रेष्ठ कोषाध्यक्ष रहेका छन् ।

यस धर्तीमा जन्म भएका सबै बाल–बालिकाहरु सक्षम र सबल छैनन् । यी अबोध र निर्दोष अनुहारका फरक क्षमता भएका बालबालिकाहरु जसलाई जीवन अवधिभर प्रत्येक पलपलमा सहाराको आवश्यकता पर्दछ। तिनै बालबालिकाहरुका अभिभावकहरुलाई संगठित गराई उनीहरुको सामाजिकीकरण, समस्याको न्यूनीकरण तथा जनचेतना अभिवृद्धि, मानव अधिकारका लागि जन पैरवी, राज्यका तर्फबाट उत्तरदायित्व बोध गराई हक÷हितको संरक्षण तथा संबद्र्धन गर्न गराउन, स्वास्थ्य शिक्षा र स्याहारका साथै अभिभावकको शेषपछि भविष्यको सुनिश्चित्ता तथा कल्याणकारी एवम् न्यायोचित ब्यवस्था गर्न÷गराउन बौद्धिक अपाङ्गता अभिभावक समाज संस्थाको गठन गरीएको छ ।

रक क्षमता भएका बाल बालिकाहरुलाई उनीहरुको क्षमता अनुसार विभिन्न प्रकारका माध्यमहरुबाट प्रशिक्षित गराउनु पर्ने हुन्छ । उनीहरुको बौद्धिक विकासका लागि उनीहरुकै रुचि अनुसारको विधिबाट सिकाउनु पर्ने हुन्छ ।

पढाई उनीहरुको वशमा छैन, मात्र उनीहरुलाई सामान्य लेखपढ तर विशेष शिक्षाको आधारमा साथै आधुनिक विज्ञानले गरेको नवीनतम उपलब्धिहरुको यथासम्भव प्रयोग गरी सोको अनुकरण गराएर तथा विविध माध्यम अपनाएर बाल–बालिकाहरुको दैनिक जीवनमा सहजता ल्याउनु नै प्रमुख दायित्व भएको छ । यसैलाई संस्थाले गगनभेदी लक्ष्य बनाएको छ ।

तसर्थ, विधाताबाट ठगिएका यि बालबालिकाहरुको केहि हदसम्म बाबुआमा रहुञ्जेल आफ्ना अभिभावकहरुको वात्सल्यमा ओतप्रोत भई, जीवनचर्या अगाडि बढाउन त सक्छन तर, अभिभावकको शेषपछि अभिभावकिय वात्सल्यतालाई उनीहरुले जीवन अवधिमा कमि भएको अनुभव गर्न नपरोस् भन्ने उद्देश्यका साथ दिवा सेवा केन्द्रलाई स्तरोन्नती गरी सञ्चालन गर्ने उद्देश्यका साथ सुविधा सम्पन्न भवन निर्माण गर्ने ध्येय एवम् लक्ष्यसमेत संस्थाले राखेको छ ।