सिम्लेको कथा शिल्पी नट्यघरमा – गोपाल सञ्जेल

This News was posted on July 20, 17 1:25 am

 

 

‘चरिला कमाइ दोङला नाइ, फापर स्याङ्ला आसेनी ङाई’ नेपथ्यमा निकै पटक गाए यो गीत । ‘एका देशको कथा’ नाटकको पाश्र्व गीतले बुधबार गोठाले नाट्यघर (शिल्पी थिएटर) गुञ्जियो । चण्डेश्वरी मावि सिम्ले (प्युटार, ललितपुर) का विद्यार्थीले जीवन्त नाटक मञ्चन गरे ।
नाटकको कथा सिम्लेकै सामाजिक परिवेशलाई उतारिएको थियो । ससाना विद्यार्थीहरुले यति जमेर कथालाई न्याय गरे कि दर्शकहरु मूर्तीवत भए । सिम्लेको सामाजिक परिवेशले पढाइलाई पारेको प्रभाव, खानेपानीको अभाव झेल्दा सिकाइका निम्छरा, सदरमुकामले सधैँ भाइअंशमा भुतुक्कै मारेको कारुणिक दृश्यले नाट्यकलामा ग्रामीण परिवेश कति जम्न सक्छ भन्ने छर्लङ्ग बताउँथ्यो ।
११ बजे र ३ बजे दुई शोमा मञ्चित नाटकमा सातदोबाटोस्थित रिजेन्ट स्कुल र चापागाउँस्थित ज्योतिदय स्कुलका दर्जनौँ विद्यार्थी दर्शक थिए । जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरी, वागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन, सांसद उदय शम्शेर राणा, पूर्वअर्थ सचिव रामेश्वर खनाल, पत्रकारलगायत खचाखच थिए दर्शक दीर्घमा ।
‘सिम्लेलाई सुन्न शिल्पीमा को पो आउलान र ? भन्ने कुरोले पिरोलेको थियो तर दुवै शो थिएटर खचाखच भो,’ प्रअ दूधराज जिम्बाले लामो सास तान्दै भने, ‘गाउँका अबोध विद्यार्थी भाइबहिनीहरु शहरमा के कति सहज मान्लान् भन्ने लागेको थियो तर राम्रो प्रस्तुती गरे । सबैको मन छुयो ।’
सिम्लेदेखि शिल्पी थिएटरसम्मको यात्रा तय गर्ने द्रष्टा टिएफएनका फेलो (शिक्षक) रतन देवकोटा । सुदूरपश्चिम धनघडीका देवकोटा ललितपुरमा फेलो हुन पाउँदा शुरुमा त मख्खै थिए रे ! जब उनी सिम्ले पुगे तब उनी झुक्किएर सुदुरपश्चिमको पनि कुनचाहिँ दुर्गम गाउँमा आइपुगेँ हँ भन्ने लाग्यो रे ! त्यसपछि सिम्लेका सिमलुका भुवाले हरपल चिमोट्न थाल्यो रे ! हैट, यो पनि ललितपुर ?
‘एका देशको कथा’को जन्म त्यतिबेलै भो भन्छन् देवकोटा । भने, ‘कहिलेकाहीँ लाग्छ, सिम्लेका विद्यार्थीहरु गणितका सूत्र र विज्ञानका कोरा ज्ञानमात्र जान्न जन्मिएका होइनन् जस्तो लाग्छ । पढाइ, सिकाइमा रस हुनुप¥यो । रसिलो तब हुँदोरहेछ जब त्यो जिन्दगी हुन्छ । भोगाइ समेटिन्छ ।’
शिल्पीकै कलाकार अनिल सुब्बा सिम्ले पुगेर १० दिन विद्यार्थीसँगै रमे । विद्यार्थीका अन्तर्निहित अद्भूत क्षमता उजागर गरिदिए । भने, ‘कालीकोटका रतन देवकोटा र म इलामको अनिल सिम्लेका सिमलुका भुवामा जोडिन पुग्नु नै ‘एका देशको कथा’ले शिल्पी थिएटरसम्म यात्रा तय गर्न सफल भयो ।’
‘दुई सय र पाँच सयका टिकट सबै बिक्री भए । दुवै शो हल खचाखच भयो । सामाजिक सञ्जालमा नाटक कहिलेसम्म चल्ने हो भनेर व्यापक माग भइरहेछ । हामीले एकै दिनको दुई शो मात्र व्यवस्थापन ग-यौँ तर अरु शो पनि थपिनु प-यो भनेर दबाब थपिइरहेछ,’ प्रअ जिम्बाले आश्चर्य मान्दै भने, ‘आर्थिक रुपमा समेत सबैको सहयोग पाइयो । वैदेशिक रोजगारमा रहेका गाउँका मित्रहरुले समेत राम्रै नगद सहयोग गरे ।
शिक्षा अधिकारी दिलनाथ पुरी भावुक हुँदै बारिँदै गर्दा भने, ‘ग्रामीण भेगको शैक्षिक परिवेशलाई नाट्यमा बेजोड प्रस्तुतीले मलाई पनि बाल्यकालमै पु-यायो ।’
‘आम्मामा…, यति धेरै मान्छे, धक लाग्यो नि ! कस्तो भो कस्तो !’ सिम्लेकी बालकलाकार मिङ्मा ब्लोनले भनिन् ।
‘चरिला कमाइ दोङला नाइ, फापर स्याङ्ला आसेनी ङाई…………..