‘सुजाताको मृत्यु गोली प्रहारबाट,’ पोष्टमार्टम रिपोर्ट

This News was posted on April 1, 18 12:30 pm

मानव आवाज सम्वाददाता
ललितपुर, १८ चैत
गत शुक्रबार वागमती गाउँपालिका वडा नं. ५ पोखरीडाँडा माझखण्डकी सुजाता स्याङ्तानको मृत्यु चट्याङबाट भएको भनिएको प्रायोजित हल्ला मिथ्या साबित भएको छ । उनको लास आइतबार पाटन अस्पतालमा पोष्टमार्टम गर्दा शरीरमा दुई वटा गोलीको छर्रा फेला परेको रिपोर्टमा उल्लेख छ ।


‘नजिकैबाट गोली प्रहार गरिएको छ,’ पाटन अस्पतालमा सुजातको लासको पोष्टमार्टम गरेकी डा. सम्झना घिमिरेले रिपोर्टबारे भनिन्, ‘उनको मृगौला र कलेजोमा दुई वटा गोलीको छर्रा फेला परेको छ । मुटुमा घाउ लागेको छ । पेटको आन्द्रा बाहिर निस्केको छ । शरीरको बाहिरी भाग कतै चोटपटक छैन । मृत्युको कारण गोली प्रहारबाटै भएको हो । प्रहरी कार्यालयलाई पनि यही रिपोर्ट दिन्छौँ ।’

 

मृतकको घरमा भएको भरुवा बन्दुक हेलचेक्र्याईँ र लापरबाहीपूर्ण तवरले प्रयोग गर्ने कोञ्ज्योसोम गाउँपालिका वडा नं. २ शंखुका १७ वर्षीय श्रीजन घिसिङ प्रहरी नियन्त्रणमा त छन् तर शुरुमा घटनालाई सामसुम पार्न खोजिएको मृतकका बाबु धनकुकमार स्याङ्तानले दुखेसो पोखे । आफूलाई ईसाइ धर्म प्रचारक भन्दै पटकपटक पोखरीडाँडा पुग्ने गरेको र भोलिपल्ट उनका बाबु ईसाइ धर्म प्रचारका लागि आउने तयारीका लागि श्रीजन अघिल्लो दिन त्यहाँ पुगेका थिए । श्रीजनका बाबु लालबहादुर घिसिङ पहिले नै आपराधिक मुद्दामा जेल सजायँ पूरा गरेका व्यक्ति हुन् । उनी गाउँ फर्केर ईसाइ धर्मगुरु भन्दै प्रचारमा हिँड्ने गर्थे ।
मृतकका भाइ लक्ष्मण स्याङ्तानले श्रीजन र सम्बध पक्षलाई कारवाहीको दायरामा ल्याउन महाँनगरीय प्रहरी वृत्त चापागाउँमा किटानी जाहेरी दिएको बताए । ‘ईसाइ धर्मका नाममा गाउँमा उदण्ड र ज्यानघाती काम गरी उल्टै घटनालाई तोडमोड गर्न खोजियो । घटना घटाउने व्यक्ति कुनै हालतमा नउम्कियोस्,’ आक्रोस पोख्दै सुजाताका माइतीपक्षले भने ।
‘ख्यालख्यालमै गम्भीर घट्यो, मेरो घरपरिवार बरवादै भो,’ सुजाताका श्रीमान राजकुमार सिँगारले भावबिह्ल हुँदै भने । गाउघरमा अझै रहेका भरुवा बन्दुक नियन्त्रण गर्न नसक्दा यस्ता घटना अरु पनि घट्न सक्छन । यसबारेमा सम्बन्धित निकायको ध्यान पुगोस ।

मृतक सुजाताको शवलाई आइतबारै बौद्ध परम्पराअनुसार स्वयम्भूनाथमा अन्त्यष्टी गरिएको छ ।