६ वर्षीय छोरालाई तातो आइरनले शरीरभरी डामेर स्कुल पठाइन् सरलाले

This News was posted on March 29, 18 12:42 pm

विराटनगर । आफ्नो श्रीमानसँग सम्बन्ध बिग्रेको झोकमा विराटनगरमा एक महिलाले आफ्नै ६ वर्षीय छोराको शरीरभरी तातो आइरनले डामेर घाइते बनाएकी छिन्। श्रीमान विक्रम काफ्लेसंग बस्न नसक्ने भन्दै जिल्ला अदालतमा माना चामलको मुद्दा हालेकी सरलाले विक्रम काठमाडौँ आएको बेला सोमबार राती आफ्नै छोरा सिम्पललाई तातो आइरनले डाम्नेसम्मको हर्कत गरेकी हुन् ।

घटनापछि विक्रम विराटनगर फर्किएका छन् भने सरला प्रहरीको नियन्त्रणमा छिन् । उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। आइरनले पोलेर सिम्पलको ढाड र पाखुरामा घाउ लागेको छ । तर, उपचारका लागि अस्पताल लगेनन्, विहान भएपछि झोला बोकाएर स्कुल पठाइन् । अन्नपूर्ण बोर्डिङ स्कुलमा युकेजीमा अध्ययनरत सिम्पल बिहान स्कुल गए । तर, असहज महसुस गरेको जस्तो लागेर शिक्षकले कपडा खोलेर हेर्दा जिउभर आइरनको डामैडाम भेटिएको थियो ।

विराटनगरका विक्रम र झापा गौरीगन्जकी सरलाले ८ वर्षअघि मागी विवाह गरेका हुन् । विवाहलगत्तै वैदेशिक रोजगारीका लागि युएई पुगेका विक्रम २०१३ मा नेपाल फर्किएका थिए, उनी नेपाल फर्किनु अघि सरला पनि युएई पुगेकी थिइन् र श्रीमानसँग सात महिना बसेर आएकी थिइन् । तर, नेपाल फर्किएपछि परिवारमा कलह सुरू भयो । अनावश्यक विवाद हुन थालेपछि विक्रमका आमाबुबा छोराबुहारीसँग छुटिएर काठमाडौं बस्न थाले ।आमाबुबासँग छुटि्टएपछि पनि विक्रम र सरलाबीच मेल हुन सकेन । विक्रमले जेठमा जिल्ला अदालत मोरङमा सरलाविरुद्ध घरेलु हिंसा र अंश मुद्दा हालेका थिए । यो मुद्दा अहिले पनि विचाराधीन छ ।

सरलाले पनि अदालतमा विक्रमविरुद्ध माना चामल सम्वन्धी मुद्धा हालेकी छन् ।प्रहरी हिरासतमा रहेकी सरलाले रिसको झोकमा छोरालाई आइरनले डामेको प्रहरीसमक्ष स्वीकार गरेकी छिन् । विक्रमले भने उनलाई कडा कारबाही गर्न माग गरेका छन् । ‘आफनै सन्तानलाई यातना दिने आमालाई क्षमा दिन सकिन्नँ’ विक्रमले भने, ‘सिम्पलको बुबा भएको नाताले छोराको न्यायका लागि लड्छु ।’