नेकपाको सदस्यता शुल्कमा ५ गुणा वृद्धि, वार्षिक अर्बको आम्दानी हुने

This News was posted on June 6, 18 7:08 am

काठमाडौं । यदि तत्कालीन माओवादीले दाबी गरेको सदस्य संख्या एकीकृत पार्टीमा स्वीकृत भएमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संगठित सदस्य करीव ७ लाख हुनेछन् । यदि यही संख्या सदर भएमा नेकपाको वार्षिक आम्दानी करोडमा होइन, अर्बमा हुनेछ

नेकपाले पार्टी सदस्य शुल्क बढाएर लेबी तथा सदस्य शुल्कबाटै पार्टी सञ्चालन गर्ने पद्दति बसाउन लागेको छ । त्यसका लागि अब नेकपाको प्रत्येक सदस्यले सदस्यता शुल्कवापत मासिक एक सय रुपैयाँ अनिवार्य बुझाउनुपर्नेछ । यो भनेको हालको सदस्यता शुल्कमा ५ गुणा वृद्धि हो । जिल्ला कमिटीहरुको एकीकरण प्रक्रियासँगै प्रत्येक सदस्यले मासिक १ सय रुपैयाँका दरले हरेक वर्ष कम्तिमा १२ सय रुपैयाँ बुझाउनेछन् । यदि नेकपामा ७ लाख सदस्यको नवीकरण भएको खण्डमा सदस्यता शुल्कबाटमात्रै नेकपाले वार्षिक करीब ८५ करोड रुपैयाँ आम्दानी गर्नेछ ।

पार्टी केन्द्रीय कमिटी एकीकरण भए पनि नेकपाका तल्ला कमिटीहरुको एकीकरण प्रक्रिया शुरु भइसकेको छैन । दुवै पार्टीका सदस्य संख्या पनि यकिन भइसकेको छैन । तत्कालीन एमालेको केन्द्रीय कार्यालयमा रहेको कम्प्युटर रेकर्ड अनुसार करीव ३ लाख संगठित सदस्य छन् ।